भूकम्प प्रभावित ८ जिल्लामा इन्टरनेट क्षमता अभिवृद्धि हुन्छ: मन्त्री गुरुङ
  • SNN Nepal

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताउनुभएको छ । उहाँले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच सम्झौता हुने तयारी भइरहेको जानकारी दिनुभयो ।

    सञ्चार मन्त्रालयद्वारा यहाँ आज स्थानीय तहमा इन्टरनेट पुर्याउनेबारे तिनका प्रतिनिधिसँगको छलफलमा मन्त्री गुरुङले सबै जिल्लाका स्थानीय तहसम्म इन्टरनेट पुर्याइने उद्देश्यानुसार आठ जिल्लाबाट शुरु गर्न थालिएको बताउनुभयो । विसं २०७७ माघ २९ को मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार नीति, २०६० तथा डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत नेपालका सबै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा विद्यार्थी सहजीकरण निर्देशिका, २०७७ लाई ध्यानमा राखी सेवामा दोहोरो नपर्ने गरी निर्देशिकानुसार प्रयोग गरिएको इन्टरनेट सेवासँग आबद्ध हुने गरी सामुदायिक विद्यालयबाट शुरु गरेर क्रमशः सबै स्थानीय तहका केन्द्र र वडा कार्यालय, स्वास्थ्य केन्द्र जस्ता क्षेत्रमा सम्बन्धित स्थानीय तहका समन्वयमा सूचना प्रबिधिको पूर्वाधार निर्माणको विस्तार गर्ने व्यवस्था मिलाइने निर्णय गरेको थियो ।

    सोही निर्णयानुसार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषका सहयोगमा ती जिल्लाका स्थानीय तहमा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पु¥याउने तयारी गरिएको हो । मन्त्रिपरिषद्का निर्णयमा भनिएको थियो, ‘भूकम्प अतिप्रभावित काठमाडौं उपत्यकाबाहेकका ११ जिल्लाहरुमा नवीनतम प्रविधिमार्फत मितव्ययी रुपमा सम्बन्धित स्थानीय तहको समन्वयमा इन्टरनेट सेवाको क्षमता अभिवृद्धि गर्ने ।’ स्थानीय तह र प्राधिकरणबीच सम्झौता गरेर अबको दुई महिनाभित्र ती तहसम्म इन्टरनेट पुर्याउने योजना रहेको मन्त्री गुरुङको भनाइ थियो ।

    ‘यो बहुवर्षीय कार्ययोजना हो, दुई वर्षसम्म गुणस्तरीय र भरपर्दो इन्टरनेट निःशुल्क उपलब्ध गराइने र दुई वर्षपछि स्थानीय तह र प्राधिकरणले केही प्रतिशत बेहोर्ने गरी व्यवस्था मिलाउने छौँ’, सरकारका प्रवक्ता गुरुङले भन्नुभयो । सम्झौतापछि अबको दुई महिनाभित्र ती जिल्लाका स्थानीय तहमा इन्टरनेट पुर्याइने उहाँको भनाइ थियो । उहाँका अनुसार प्रत्येक स्थानीय तहमा सूचना केन्द्र स्थापना गर्ने र ग्रामीण क्षेत्रमा देखिएको टेलिफोन टावरको समस्या समाधान गरिने छ । सो अवसरमा नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष अशोकब्याञ्जु श्रेष्ठले स्थानीय तहले गरेका काम एपमार्फत एकीकृत रुपमा हेर्न मिल्ने गरी व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images