कसरी ‘अभागी’ स्पेन विश्वविजेता बन्यो ?
  • SNN Nepal

  • एजेन्सी । ६ सेप्टेम्बर २००६ मा १४ हजार ५ सय समर्थकका अगाडि बेलफास्टको विन्डसोर पार्कमा स्पेनिस खेलाडीहरु निकै कमजोर देखिए, उनीहरुले उत्तरी आयरल्यान्डविरुद्धको युरो २००८ छनोट खेल ३–२ ले गुमाए ।

    यो नतिजाबाट स्पेनमा कोही पनि खासै आश्चर्य चकित थिएन, यो केही वर्षदेखि आरालो लाग्दै गरेको टोली थियो । सन् १९६४ मा युरोपियन च्याम्पियनसिप जितेयता स्पेनले एकपटकमात्रै ठूला प्रतियोगितामा क्वाटरफाइनल पार गरेको थियो ।

    २००४ मा लुईस अरागोनेस स्पेनको प्रशिक्षक नियुक्त भएपछि उनको नेतृत्वमा टोली लगातार २५ खेलसम्म अपराजित थियो । तर, विश्वकप २००६ को अन्तिम १६ मा फ्रान्ससँग पराजित भएपछि फेरि आशामा तुसारापात भयो ।

    तीन महिनापछि केही गर्नुपर्छ भन्ने अरागोनेसलाई थाहा थियो । त्यसरात उत्तरी आयरल्यान्डले परिवर्तन हुनैपर्छ भन्नेमा उनलाई झनै आश्वस्त ग¥यो । यो कुनै महत्त्वपूर्ण कुराको सुरुवात थियो । ६ वर्षपछि स्पेन सर्वकालिन उत्कृष्ट अन्तर्राष्ट्रिय टोली बन्दै थियो ।

    ……………….

    स्पेनका विभिन्न क्लब र क्षेत्रका खेलाडीहरुबीच द्वन्द्व र विवाद हुन्छ भन्ने चर्चा सधैँ थियो । जब १९८४ को युरोकप फाइनलमा फ्रान्सविरुद्ध गोलकिपर लुईस अर्कोनाडाको गल्तीका कारण स्पेनले गोल खायो, तब केहीको आरोप अर्कोनाडाले जानाजान बल छाडेका हुन् भन्ने पनि थियो । उनी बस्केका हुन् र उनी स्पेनले जितेको चाहदैंनन् भन्ने आरोप लाग्यो ।

    ‘त्यहाँ रियल म्याड्रिड र बार्सिलोनाका धेरै खेलाडी हुन्थें । र, जब हामी एकसाथ हुन्थ्यो, तब टिमका खेलाडीहरुबीच पनि निश्चित दूरी महसुस हुन्थ्यो,’ अरागोनेसले टोली सम्हाल्दाको सुरुवातमा टिममा रहेका स्ट्राइकर फर्नान्डो मोरिएन्टेसले भने,‘अहिलेजस्तो खेलाडीहरुबीच दैनिक जीवनमा समान एकता त्यतिबेला थिएन ।’

    यद्यपी, राजनीति त्यस समय सफलताको मुख्य अवरोध थिएन, बरु रणनीति थियो ।

    २००६ को विश्वकपपछि उत्तरी आयरल्यान्डविरुद्धको खेलमा डाइरेक्ट र लङ बल एप्रोचले काम नगरेको महसूस अरागोनेसलाई भयो । तर, आफुले चाहेको परिवर्तन ल्याउनका लागि उनले कठोर निर्णय गर्नुपर्ने थियो । उनको निर्णयले झन्डै उनलाई जागिर गुमाउनुपर्ने अवस्थामा पनि पु¥यायो । रियल म्याड्रिडका सुपरस्टार राउल केवल एउटा खेलाडीमात्र थिएनन् । उनी आइकन थिए । धेरै स्पेनिसहरुको बुझाइमा उनीहरुको देशको टिम जस्तो हुनुपर्ने थियो, त्यसको मानक राउल थिए ।

    बेलफास्टमा खेल हारेपछि अरागोनेसले राहुललाई स्पेनको ओभरअल प्लानमा फिट हुने देखेनन् । उनले राहुललाई टोली बाहिरै राखे । म्याड्रिडका मिडियामा यसको चर्को विरोध भयो । महान् खेलाडीलाई कटौती गर्नु नै खराब थियो । त्यसमाथि व्यक्तिगत रुपमा राउललाई सम्पर्क नगरी यस्तो निर्णय गरेर प्रशिक्षकले अपमान गरेको मिडियाहरुको दृष्टिकोण थियो ।

    राहुल २९ वर्षका थिए र उत्तरी आयरल्यान्ड विरुद्धको खेल स्पेनका लागि उनको १ सय २ औँ खेल थियो । अरागोनेसले निर्णय नफेर्दा यो नै उनको अन्तिम खेल बन्ने थियो । ‘उनी छनोट भएका छैनन् भने जानकारी दिनका लागि मैले उनलाई कल गरिनँ,’ अरागोनेसले भनेका थिए, ‘उनी अपवाद होइनन् । सामान्य रुपमा भन्नुपर्दा मैले आफ्नो आवश्यकतापूर्ति हुने खेलाडीहरुलाई मात्र बोलाएको छु ।’

    अरागोनेसले स्पेनको खेल शैलीलाई नयाँपन दिन खोजिरहेका बेला म्याड्रिडका मिडिया भने आफ्नो धारिलो चक्कु चलाइरहेका थिए । स्विडेनसँगको पराजय र आइसल्यान्डमा बराबरीको अर्थ स्पेन युरो २००८ मा छनोट नहुने खतरामा पुगिसकेको थियो । १३ अक्टुबर २००७ मा डेनमार्कको भ्रमण गर्दा उसको अवस्था यस्तै थियो । डेनमार्कमा पराजित भएको भए अरागोनेसको भाग्य खोसिने थियो । तर, त्यो रात स्पेनिस फुटबलले पुनर्जन्म पायो ।

    अरागोनेसको चमत्कारी क्षण त्यतिबेला आयो, जब ३९ औं मिनेटमा ३० वटा पास खेलिसकेपछि सर्जियो रामोसले डेनमार्कका गोलकिपरलाई चिप गर्दै स्पेनको दोस्रो गोल गरे । स्पेनले खेल ३–१ ले जित्यो र समूह विजेताका रुपमा युरोकपमा छनोट भयो ।

    यस खेलले नयाँ स्पेनको आगमनको संकेत गर्यो । जसलाई सामुहिक कार्य र पासले परिभाषित गरेको थियो ।

    ‘हाम्रो अभिसाप तोड्ने – युरो २००८ ’

    स्पेनले अन्ततः अस्ट्रिया र स्विटजरल्यान्डमा हुने २००८ को युरोमा स्थान बनायो । स्पेनका लागि ४४ वर्षदेखिको उपाधिको खडेरी तोड्ने यो अवसर थियो ।

    ‘मलाई अस्ट्रिया पुग्दाको क्षणको सम्झना छ । हामी त्यहाँ मध्य दिउँसो पुगेका थियौँ र सामान्य अवस्थामा सोझै प्रशिक्षणमा लाग्थ्यौं । तर, लुईसले हामीलाई अर्को दिनसम्म समय रहेको बताए । हामी पुग्नासाथ उनले हामीलाई स्वतन्त्र छाडिदिएका थिए, हामी आश्चर्यमा थियौँ, मलाई लाग्छ हामीले त्यही क्षणदेखि जित्न थाल्यो किनकी के कुराले हामीलाई एकसाथ ल्याउँछ भन्ने उनलाई थाहा थियो,’ लेफ्ट ब्याक जोन क्याप्डिभिलाले भने ।

    समूह चरणपछि स्पेनले क्वाटरफाइनलमा इटलीको सामना ग¥यो । यसअघि ठूला प्रतियोगितामा स्पेनले कहिल्यै इटलीलाई हराउन सकेको थिएन । ‘यसले अर्को आयाम थप्यो,’ क्याप्डिभिलाले भने, ‘उनीहरु प्रतिष्ठित टोली थिए । हामी भने जहिले पनि ठूलो टोलीसँग हार्ने । हामी राम्रो खेल्थ्यौँ तर अन्त्यमा जहिल्यै हार्ने ।’

    त्यस खेलमा स्पेनले उत्कृष्ट खेलेपनि गोल गर्न सकेन । अतिरिक्त समयको खेलपनि गोलरहित बढिरहँदा पेनाल्टी हुने देखियो ।

    अरागोनेसले आफ्नो एसिस्टेन्ट होजे उफार्तेलाई पेनाल्टीका लागि तयारी गर्न निर्देशन थिए । त्यतिबेला स्पेनको फिटनेस कोच रहेका जिसुस पारेडेस सम्झन्छन्, ‘उफार्तेले पेनाल्टी लिनेहरुको सूची तयार गर्न थाले । उनलाई एक दुईवटा नाममा सन्देह थियो । उनले अरागोनेससँग सल्लाह मागे ।’

    ‘म्यानेजरले मलाई देखाऊ भने । सूची हेरेपछि केही हेरफेर गरे र सेस फाब्रिगासलाई अन्तिम पेनाल्टी लिनेमा राख भने ।’

    पेनाल्टी सुटआउटको अन्त्यमा फाब्रिगेसले इटालीका गोलकिपर जियान लुइजी बुफोनको देब्रेपट्टी प्रहार गरे । गोल भयो । स्पेनले अन्ततः इटालीलाई हरायो । र, टोली सेमिफाइनलमा पुग्यो ।

    ड्रेसिङ रुपमा पुगेपछि पाराडेसले फाब्रिगासलाई भने, ‘धेरै राम्रो पेनाल्टी सेस, तिमी निकै आश्वस्त देखिन्थ्यौ ।’

    ‘जिसस,’ फाब्रिगासले जवाफ फर्काए, ‘१४ वर्षको उमेरपछि त्यो मेरो पहिलो पेनाल्टी थियो ।’

    स्पेनको चर्चित खेल पत्रिका एएसका पूर्व प्रधानसम्पादक अलफ्रेडो रेलानो भन्छन्, ‘त्यो पलदेखि मेरालाई सबै कुरा बदलियो । त्यसपछि राष्ट्रिय टोलीमाथि मेरो कुनै सन्देह रहेन, युरो र त्यसपछि पनि ।’

    स्पेनले ठूला प्रतियोगितामा क्वाटरफाइनल पार नगरेको धेरै वर्ष भइसकेको थियो । त्यो स्पेनका धेरै पुस्ताका लागि महत्त्वपूर्ण पल थियो ।  । ‘मेरो पुस्ताका मानिसहरुमाझ सेस सधैं सम्मानित रहनेछन् किनकी म त्यो पुस्ताको व्यक्ति हुँ, जसले स्पेन कहिल्यै ठूला प्रतियोगिताको क्वाटरफाइनलबाट अघि बढ्दैन भन्ने सोचिसकेको थिएँ,’ तत्कालीन प्रधानमन्त्री जोसे लुईस जापाटेरोले भने  ।

    सेमिफाइनलमा स्पेनले रुसलाई ३–० ले हराएर २४ वर्षपछि फाइनल यात्रा ग¥यो ।

    फाइनलमा भिडन्त जर्मनीसँग थियो ।

    फाइनल खेलअघि प्रशिक्षकसँग भएको कुराकानीलाई खेलाडीहरु अझै सम्झन्छन् । ‘प्रशिक्षणका क्रममा उनले हामी सबै खेलाडीलाई मैदानको मध्यभागमा राखे,’ क्यापभिलाले भने,‘ उनले भने ः वाल्लेसले खेल्ने छैनन् । को वाल्लेस ? हामी सबै सोचिरहेका थियौं ।’

    मलाई लाग्छ जाभीले सोधिरहेका थिए : बोस को वाल्लेस् ? तपाईले बालाक भन्नु भएको हो ?’ उनले भने, ‘जो हुन्, म उनलाई वाल्लेस् भन्छु ।’ यसपछि सबै खेलाडीहरु फाइनलको तनाव बिर्सिएर गल्लल हाँस्न थालेका थिए ।

    सन् २००८ जुन २९ भियाना । आरागोनेसको प्रेरणा पुनः निर्णयक साबित बन्यो ।

    फाइनल अघि ड्रेसिङरुममा उनले स्ट्राइकर फर्नान्डो टोरेसलाई भनेका थिए, ‘निनो, तिमी दुई सेन्टर ब्याकको बीचमा रहनु ताकि उनीहरु पछाडि रहन बाध्य रहुन् । उनीहरुको एक छेउमा बस्ने र हामीसँग बल भएपछि कुद्न थाल्ने ।’

    अहिले फर्किएर हेर्दा, जाभीले दिएको बल पछाडि कुदेर टोरेसले कसरी जर्मन डिफेन्सलाई तोड्छन् र निणार्यक गोल गर्छन् भन्नेबारेको त्यो उत्कृष्ट वर्णन थियो ।

    डेभिड भिल्ला भन्छन्, ‘एक वा अर्को कारणले हाम्रो देश विश्वकप वा युरोपेली च्याम्पियनसिपबाट बाहिरिन्थ्यों । त्यस दिन देशले राहतको सास फेर्दै, अन्तिममा जित्यौँ भन्यो ।’

    स्पेनका लागि यो सुरुवात थियो । तर अब उनीहरु अरागोनेस बिना अघि बढ्ने थिए । हारेपनि, जितेपनि २००८ को वसन्तपछि टिम छाड्नेछु भनेर अरागोनेसले सेप्टेम्बर २००७ मै घोषणा गरेका थिए ।

    स्पेनिस फुटबल फेडेरेशनले पनि रियल म्याड्रिडका पूर्व प्रशिक्षक भिसेन्ट डेल बोस्कसँग सम्झौता गरिसकेको थियो । तर, जब युरोकप जितेर फर्किएको स्पेनिस टिम चढेको जहाज एयर ट्राफिकका कारण झन्डै एक घण्टासम्म आकाशमा घुमिरह्यो । त्यतिबेला स्पेनको पुरै टोलीले नारा लगाइरहेको थियो, ‘लुईस अरागोनेस ! तपाई बस्नुपर्छ । अरागोनेसले टोली छाड्ने भएपछि रिक्त पदमा प्रशिक्षण छनोट गर्नुपर्ने जिम्मा तत्कालीन समयका स्पेनका फुटबल निर्देशक हियर्रोलाई थियो । उनले नै डेल बोक्स्युलाई ल्याउने तय गरे । ‘मैले जुन शैलीले निर्णय गरेको थिएँ, त्यसमा मेरो निर्णय सही नहोला भनेर दुविधा गर्नुपर्ने अवस्था नै आएन । मेरो अवचेतन मन यसमा स्पष्ट थियो ।’

    निकै विवादीत व्यक्तित्व तर फुटबलको क्रेजी राष्ट्र स्पेनलाई सफलता दिलाउने अरागोनेसको १ फेब्रुअरी २०१४ मा ७५ वर्षको उमेरमा निधन भयो ।

    क्याडेभिला भन्छन्, ‘उनले जे गरे त्यसका लागि हामी सबै कृतज्ञ छौं । पहिले त उनले उत्कृष्ट प्रतिभाहरुको टिम र महान् वातावरण तयार गरे । र, दोस्रो आफ्नो सम्पूर्ण फुटबल विवेक उपलब्ध गराए । हामी सबैसँग उनका महान् संझनाहरु छन् किनकी उनले हामी सबैमा आफ्नो छाप छाडे ।’

    विश्वविजेता बन्दा

    सुरुवातदेखि नै डेल बोस्कले आफुसँग सफलताको पूर्ण ब्लु प्रिन्ट रहेको बताएका थिए । यसका बाजबुद उनले २०१० को विश्वकपका लागि टोलीका झन्डै एक तिहाई र २०१२ को युरोपेली च्याम्पियनसिपमा थप एक तिहाई खेलाडी परिवर्तन गरे ।

    केही परिवर्तन भएको छैन भन्ने महसुस गराउँदै नयाँ अनुहारहरुलाई भित्र्याउने कला उनमा थियो ।

    विश्वकप छनोटमा अपराजित रहेको स्पेन ठूलो महत्वाकांक्षासहित दक्षिण अफ्रिका पुगेको थियो । त्यहाँ उसले स्विटजरल्यान्डविरुद्धको सुरुवाती खेल १–० ले गुमायो ।

    ‘यो ठूलो धक्का र अकल्पनीय थियो किनकी हामी यसका लागि तयार थिएनौं,’ डेल बोस्कले भने,‘हामी कसैलाई दोष थोपार्नेमा पनि थिएनौं । यदी गल्ती भएको थियो भने त्यो हामी सबैको थियो ।’

    बाँकी दुई खेलमा जित हासिल गर्दा दोस्रो चरण पुग्न सकिन्थ्यों । तर, अर्को हारले झन्डै प्रतियोगिताबाट बाहिर पु¥याउने थियो । त्यसकारण, होन्डुरसविरुद्धको अर्को खेलमा टोली ठूलो दबाबमा थियो । भिल्लाले यस खेलबारे केहीपछि भनेका थिए,‘यो विश्वकपको सबैभन्दा कठिन खेल थियो ।’

    होन्डुरस २–० ले पराजित भयो । तर, चिलीविरुद्धको समूहको अन्तिम खेलमा पराजित भएको भए स्पेन बाहिरिने खतरा थियो ।

    स्पेनले चिलीलाई २–१ ले हरायो । त्यसपछि डेल बोस्कले खेलाडीहरुलाई भनेका थिए, ‘तिमीहरुसँग ४ वटा फाइनल अगाडि छ । अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र वास्तविक फाइनल ।’

    पोर्चुगललाई हराएर क्वाटरफाइनल पुगेको स्पेनले त्यहाँ पाराग्वेको गतिलो चुनौती सामना ग¥यो । विश्वकपमा स्पेन कहिल्यै क्वाटरफाइनलबाट अगाडि पुगेको थिएन र एकपटक फेरि झन्डै चक्का खुस्कन लागेको थियो ।

    ‘सबैलाई लागेको थियो कि पाराग्वेलाई हामीले सहजै हराउँछौं, तर यो वास्तविकता थिएन,’ क्यापडिभिलाले भने ।

    स्पेनका लागि यो खेल निकै कठिन थियो । इकर कासियासले पेनाल्टी जोगाएको यस खेलमा जाभी अलन्सोले पेनाल्टी मिस गरेका थिए । ‘यो कठिन खेल थियो । त्यस्तो खेल जहाँ जसले पहिले गोल गर्छ, त्यसैले जित्ने तयजस्तै,’ भिल्लाले भने ।

    ‘यस समय मेरो खुट्टा नियन्त्रण गर्न नसक्नेगरी कामेजस्तो भएको थियो,’ डेल बोस्कले भने ।

    भिल्लाले निर्णायक गोल गरे । एउटा पोलमा ठोक्किएर आएको बल भिल्लाले प्रहार गरेपछि अर्को पोलमा ठोक्किएर जालीभित्र छिरेको थियो । भिल्लाले केहीपछि भनेका थिए,‘प्रभावकारी रुपमा गोल्डेन गोलजस्तो, बिना दुविधा यो मेरो अति महत्त्वपूर्ण गोलमध्येको एक हो ।’

    सन् २००८ मा जसरी नै फेरि एकपटक बाटोमा जर्मनी आयो । स्पेनले प्रतियोगिताको उत्कृष्ट प्रदर्शनलाई सेमिफाइनलमा पनि कायमै राख्यो ।

    मध्यान्तरसम्म खेल बराबरीको अवस्थामा थियो । त्यसपछि दोस्रो हाफमा कार्लोस पुयोलले हेड गोल गर्दै स्पेनलाई १–० को जित दिलाए ।

    जोहानेसवर्गमा नेदरल्यान्डस्सँग फाइनलमा स्पेनको भेट तय भयो । तनावपूर्ण यस खेलबारे क्यापडिभिला भन्छन्, ‘सायद उनीहरुलाई हामी उनीहरुभन्दा उत्कृष्ट छौं र आक्रामक देखिनु नै हामीलाई रोक्ने एउटै बाटो हो भन्ने लाग्यो,’ उनी भन्छन्, ‘तर यो अति थियो । म आश्चर्य चकित भएको थिएँ ।’

    दोस्रो हाफमा आर्यन रोब्बिनले गोल गर्ने सुन्दर मौका गुमाएका थिए । दुबै पक्षबाट निर्धारित र अतिरिक्त समयको पहिलो हाफमा पनि कुनै गोल हुन नसक्दा शारिरीक रुपमा समेत धकेला धकेल भएको यो खेल पेनाल्टीमा पुग्ने छाँट देखिएको थियो । तर १ सय १६ औं मिनेटमा आन्द्रेस इनियस्टाले गोल गर्दै स्पेनिस फुटबलको इतिहास पुनर्लेखन गरे ।

    ‘मेरो खुट्टामा बल थियो र दुई विकल्प थिए,’ सेस फाब्रिसगास भन्छन्, ‘सुट गर्ने वा पास दिने । यदी मैले सुट गरेको भए के हुन्थ्यों भनेर म सधै सोच्छु । तर, मैले इनियस्टालाई राम्रो अवस्थामा देखें र यो हाम्रो करियरको उत्कृष्ट क्षण थियो ।’

    ‘कर्नरको झन्डासम्मको त्यो ७० मिटर मैले अहिलेसम्म सबैभन्दा छिटो दौडिएको क्षण हो,’ क्यापडिभिलाले भने,‘सायद मैले ग्यारेथ बेललाई पनि ओभरटेक गथ्र्यें होला ! तर यो मेरो जीवनको निकै शक्तिशाली, अति सुन्दर क्षण थियो । यो निकै पृथक र अहिले संझदा पनि भावूक हुने क्षण छ ।’

    ‘हामीलाई लागेको थियो कि यो प्रतियोगिता ब्राजिली, इटालियन वा जर्मनले लग्नेछन् । र, हामीले रातो जर्सी लगाएका कसैले त्यो ट्रफी उचाल्नेछ भनेर कहिल्यै कल्पना गरेका थिएनौं । यो केही कठिन कार्यजस्तो देखियो, भर्चुअल्ली असम्भव जस्तो,’ भिल्लाले भने ।

    क्यापडिभिला भन्छन्, ‘यो निकै भावुक क्षण थियो । मैले मेरा बाबु–आमा रंगशालामा रोइरहेको देखें । मेरी आमाले यो खेल हेर्नका लागि १२ सय युरो तिरेकी थिइन् । उनीहरुले गरेको त्याग र ८० हजार मानिस उपस्थित रंगशालामा त्यसको पुरस्कार पाउँदाको क्षण कस्तो होला ? मेरा बाबुआमा रोएको क्षण निकै भावूक थियो ।’

    लगातार तेस्रो उपाधि जितेर इतिहास

    पोल्यान्ड र युक्रेनमा आयोजित २०१२ को युरोकपमा स्पेन दाबेदारका रुपमा गएको थियो । तर स्पेनको खेलशैलीबाट सबै खुसी थिएनन् । ‘उनीहरु किन धेरै प्रहार गर्दैनन् ?’ जर्मनीका विश्वकप विजेता कप्तान तथा प्रशिक्षक फ्रान्ज बेकेनबउरले भनेका थिए ।

    यस्तो  आलोचनाका बाबजुद उनीहरु अहिलेसम्मकै प्रभावकारी देखिए । जापाटेरोकै शब्दमा ‘अरागोनेस र डेल बोस्कले बनाएको टिमको महान् क्षण नै युरो २०१२ थियो ।’

    स्पेनले जसरी उत्कृष्ट ढंगले कसैले पनि युरोकपको फाइनल जितेको छैन । स्पेनले इटलीलाई ४–० ले हरायो ।

    र, लगातार तीन ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने पहिलो टोली बन्यो ।

    तर इतिहास कोरिसकेपछि लगातार चौथो उपाधि जित्ने सपना चाडैं समाप्त हुनेवाला थियो । २०१४ को ब्राजिल विश्वकपले स्पेनको प्रभूत्वशाली टिमको यात्रा सकिएको संकेत गर्यो ।

    के खेलाडीहरुमा देखिएको सन्तोष यसको कारक थियो ? वा ६ वर्षदेखि विश्व फुटबलमा प्रभूत्व देखाइरहेको टिमका लागि यो एउटा युगको अन्त्य थियो ?

    सायद, केही न केही रुपमा यो सबै थियो । ठूलो उपलब्धि हासिल गराएर त्यो पिढींलाई बिदा गर्ने डेल बोस्कको चाहना थियो ।

    तर, अन्त्यको सूरुवात त्यसरी नै भयो । जसरी सफलताको सुरुवात भएको थियो । यसपटक विश्वकपमा रोबिन भान पर्सीले डाइभिङ हेडर गरे । जाभी अलन्सोले स्पेनलाई अग्रता दिलाएपनि नेदरल्यान्डस्ल भान पर्सीको उक्त गोलपछि विश्वकपको सुरुवाती खेलमा १–१ ले बराबरीमा फर्कियो र खेल सकिदाँसम्म स्पेनलाई ५–१ को लज्जास्पद अन्तरले हरायो ।

    सधैं आफ्नो पुस्ताको उत्कृष्ट भनेर चिनिने यो टोलीले फुटबल कसरी खेल्नुपर्छ भन्नेबारे एउटा दृष्टीकोण नै आविस्कार गरेको थियो । पार्टी सकिसकेको थियो, तर, वाह् ! यो क्या उत्कृष्ट पार्टी थियो ।

    बीबीसी स्पोर्ट

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images