सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई एमालेले सोध्यो ४८ घण्टे स्पष्टीकरण
  • SNN Nepal

  • काठमाडौँ ।  नेकपा एमालेले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको छ ।

    पार्टीको निर्णय नमानेको भन्दै शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

    पार्टीको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि संसदीय दलका नेता शाहले सरकारलाई दिएको समर्थन कायमै राखेका छन् ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको निर्णय विपरीत काम गरेकाले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधिएको बताए ।

    ‘हामीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेका छौँ । तर, पार्टीको निर्णय संसदीय दलले सरकारलाई दिएको समर्थन कायमै राखेपछि स्पष्टीकरण सोधेका हौं,’ उनले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो नआए दलको विधानअनुसार कारबाही हुनेछ ।

    तामाङले पार्टीको १० जेठको स्थायी कमिटी बैठकको निर्णय विपरीत सरकारलाई दिएको समर्थन किन फिर्ता नलिएको भनेर स्पष्टीकरण सोधिएको बताए ।

    यसअघि १० जेठमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सुदूरपश्चिम संसदीय दलमा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल समूह बहुमतमा छ । त्यसैले नेपाल समूहले पार्टीको निर्णय अवज्ञा गर्दै सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images