कर्णालीका ग्रामीण इलाकामा एक सिलिन्डर ग्यासको मूल्य ३ हजार
  • SNN Nepal

  • कर्णाली। कर्णालीका ग्रामीण इलाकामा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरभन्दा बढीले बृद्धि भएको छ । महंगो ढुवानी भाडा र नियमित बजार अनुगमन नहुँदा उपभोक्ताहरू महंगोमा दैनिक उपभोग्य वस्तु किन्न बाध्य छन् ।

    सुर्खेतमा एक सिलिन्डर खाना पकाउने ग्याँसको १३ सय ५० पर्छ भने । कालिकोटको सदरमुकाम मान्ममा १६ सय, कालिकोटको नरहरिनाथ गाउँपालिकामा २५ सय, रास्कोट नगरपालिकामा २४ सय बाजुराको पूर्वी क्षेत्रका जगन्नाथ गाउँपालिका लगाएतका अन्य गाउँपालिका क्षेत्रमा ३ हजार रुपैयाँ पर्छ ।

    यी क्षेत्रमा व्यापारीहरूले आफूखुसी मूल्य तोक्ने गरेकाले एउटै वस्तुको फरक-फरक मूल्य पर्ने गरेको स्थानीयले बताएका छन् ।

    ग्रामीण इलाकामा खाना पकाउने ग्यास मात्र नभएर चामल, तेल, नुन, साबुनको मूल्य पनि चर्को रहेको कालिकोट पलाँता गाउँपालिका– २ खाडाँका बिर्ख भण्डारीले बताए ।

    ‘कर्णाली राजमार्गको जिते बजारमा १३५ रुपैयाँमा पाइने तेललाई गाउँमा ३०० रुपैयाँ पर्छ,’ उनले भने, ‘चामल, नुन, साबुन, चाउँचाउ, बिस्कुट पनि अचाक्ली महंगो छ ।’

    व्यापारीले आफूखुसी मूल्य तोक्ने भएकाले एउटै मूल्य नभएको बताउँछन् कालिकोट नरहरिनाथ गाउँपालिका– १ का जगतबहादुर बिष्ट । ‘गाउँमा व्यापारीहरूले आफूखुसी मूल्य तोक्ने गरेका छन्,’ उनले भने, ‘यसको नियमन गर्ने निकाय को हो ? कसैको त्यसतर्फ चासो गएको देखिँदैन ।’

    ढुवानी भाडा महंगो भएकाले सामानको मूल्य बढी भएको उद्योग बाणिज्य संघ कालिकोटका सचिव कमलप्रसाद काफ्लेले बताए ।

    ‘ग्रामीण इलाकामा मूल्य बढी हुनुमा ढुवानी भाडा महंगो भएर हो,’ उनले भने, ‘बजार क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य तोकिएको भए पनि ग्रामीण इलाकामा लागु हुन सकेको छैन ।

    ग्रामिण क्षेत्रमा भएको महंगीका विषयमा सरोकारवाला निकायसँग बसेर छलफल गर्ने र बजार दरभाउमा एकरुपता ल्याउने कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

    ‘बजार मूल्य बढी भएको गुनासो धेरै आउने गरेको छ । उद्योग बाणिज्य संघ, ढुवानी गर्ने साधनका मालिक, व्यापारीसँग बसेर मूल्य समायोजन गर्छौ,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुको मूल्य बढी लिएको पाइए त्यस्ता व्यापारीलाई कारबाही गर्छौँ ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images