निबन्ध : उचाइको गणित !
  • मुक्ति गौतम

  • आहा, त्यो साथीलाई सुनौलो घडी कति सुहाएको!

    अर्जुनजीले एकजना साथी हामीबाट छुट्टिएपछि भन्नुभयो । अर्जुनजीको परिवार र हामीएउटै घरमा डेरा लिएर बसेका थियौं काठमाडौंमा । घडीवाला साथीले विवाह गरेको र अधिकृत भएको धेरै भएको थिएन । अर्जुनजी त्यो साथीको व्यक्तित्वसँग भन्दा उहाँको पदले बढी प्रभावित हुनुहुन्थ्यो । उहाँले अझ अघि थप्नुभयो– सुनको सिक्री पनि कति सुहाएको, कुरा पनि कस्तो मिलाएर गरेको, अधिकृत भएपछि कुरै अर्कै!
    त्यो बेला अर्जुनजी र म पनि सरकारी अधिकृत हुन जाँचको तयारी घमासान ढङ्गमा गर्दै थियौं र हाम्रो ध्यान पूरै अधिकृत हुनेमामात्र थियो । अधिकृत हुने हाम्रो एक सूत्रीय उद्देश्य थियो त्यतिबेला । हामीलाई लाग्थ्यो त्यो पदले उचाइ थप्छ, हाम्रो कुरा नै त्यही वरिपरिको हुन्थ्यो । म अधिकृत भएपछि धेरै बस्ने अवसर मिलेन देशमा, तर अर्जुनजी त्यतै हुनुहुन्छ, उचाइको मजा कति छ अहिले त्यसमा, म भने अनभिज्ञ छु ।

    गज्जबको हुन्छ उचाइको भान, उचाइमा पुग्ने र पुगेकालाई हेर्ने दुवैलाई । कहिलेकाहीँ आफू माथि पुगेको ठान्नेहरुले अरूलाई नचिन्ने, हेप्ने वा हेपेजस्तो लाग्ने हुन्छ भने अर्कोतिर आफूलाई तल परेको ठान्नेहरुले आफ्नै माथि पुगेको साथी या सम्बन्धीसँग बोल्न र नजिक हुन पनि डराउने हुन्छ । थोरै होलान् उचाइको असर नपर्नेहरु हाम्रो समाजमा ।

    मान्छे उचाइमा हुँदा यस्तो लाग्छ, ऊ अब कहिल्यै तल झर्दैन । ऊ अत्यन्त शक्तिशाली देखिन्छ । हाउभाउ आकर्षक र रबाफिलो । अत्यन्त चमकदार देखिन्छ उसको अनुहार, धपक्क बलेको । पदमा हुञ्जेल कोही पनि खाइलाग्दो, रबाफिलो लाग्ने । वरिपरिको परिवेश वा मानसम्मानले मान्छे आफंैलाई र हेर्ने अरूलाई पनित्यस्तो लाग्दो हो अथवा यो क्षण भङ्गुरताको आभास नहुँदो हो मान्छेलाई ?

    हामी सानैदेखि उचाइ बनाउन अभ्यस्त हुन्छौं । बाले घरमा सबैलाई हायलकायल पारेर बनाउने उचाइ, समाजका अगुवाले बनाउने उचाइ, शिक्षकले स्कुलमा, धनले, रबाफले, शक्तिले बनाउने अनेकथरी उचाइहरूले प्रभाव पार्छन् हामीलाई । सके र पाएदेखि घरमा, साथीभाइहरूमा, स्कुलमा कृत्रिम उचाइ बनाउन हामी पनि के कम सकेसम्म गर्दै नै आएका हौं । विदेशमा पनि उचाइ बनाउने होड कम्ता छैन । कोही राजनीतिको पुच्छर समातेर तर्न चाहन्छन् वैतरणी, कोही मान्छेको व्यापारले या अरू नै केहीले, उचाइप्रतिको अधिक मोह हाम्रो रगतमै भएझैं लाग्छ कहिले त ।

    बाल्यकालमाम स्कुल भएको ठाउँको रैथाने थिएँ । कोहीकोही २–३ घण्टासम्म हिँडेर आउथे अलि टाढाबाट पढ्न । रैथाने भएको नाताले थर्काउने, निहुँखोज्ने र ताल परे पिट्ने सम्म हुन्थ्यो, एक प्रकारको दादागिरी । स्कुल नजिक घर भएको कारणले पाएको उचाइपो रहेछ यो दादागिरीको कारण । पछि क्याम्पस पढ्दा यसको ठ्याक्कै उल्टो भयो । हेटौंडाका रैथानेहरूसँग क्याम्पसमा या बाहिर जताततै डराउनु पर्ने, नत्र त पिटाइ खाने पक्का । आफूले गरेको नराम्रो आफैंलाई फर्केर आउँछ भन्थे, ठीकै पो रहेछ !

    हाम्रो समाजमा सानैदेखि बाबुआमाले पनि उचाइ बनाउन प्रोत्साहित गरिरहन्छन् । त्योसँग सङ्गत नगर्नू है, फलानोलाई हेर त कस्तो राम्रो छ, पढेर फलानोले कति धेरै कमायो, तँ पनि इन्जिनियर बन्नुपर्छ…आदि जस्ता कुराहरूले उचाइ खोज्न हौस्याइरहने । कहिले लिङ्गको आधारमा, कहिले जातको, कहिले खानदान (?) र अरू यस्तै कैयन् आधारहरू बनाइ रहन्छौं हामी जीवनभरि उचाइ खोज्न ।

    मलाई पहिलेपहिले राजपरिवारलाई टीभीमा हेर्न पाउँदा खुबै मजा लाग्थ्यो । कस्ता राम्रा, चिल्ला, बानीव्यवहार गर्न जानेका, कति मीठो हाँसेका, म राम्रा कुरामात्रै देख्थेँ । उनीहरूका हाउभाउ, हिँडाइ सबै राम्रो लाग्ने । उनीहरूलाई हेरेर कहिल्यै थाकिँदैनथ्यो जस्तो लाग्ने । अहिले सम्झिँदा यो उनीहरूको उचाइप्रतिको मेरो आकर्षणजस्तो लाग्छ । राजपरिवारप्रति बेलाबेलामा देखिने आकर्षणको सायद एउटा कारण यो पनिहोला ।

    २०५२/५३ सालतिर होला सायद– म र मेरो एकजना साथी भृकुटीमण्डप घुम्न पसियो । उहाँ त्यतिबेला जिल्लाविकास समितिमा हुनुहुन्थ्यो र म काठमाडौंमा जागिरे । राजेश हमालको सिनेमाको सुटिङ भइरहेको रहेछ । हामी राजेशको पछि लाग्यौं, अरूले पनि पछ्याउँदै थिए । उनको हाउभाउ, मान्छेहरूको उनीप्रतिको आकर्षण, उनका हरेक कुराहरूले हामीलाई पनि तानिरह्यो त्यो दिन । लगभग पूरै दिन त्यतै पछ्याउँदै बित्यो भन्दा पनि हुन्छ । केटाकेटीझैं राजेशको पछिपछि कुदियो ।

    म त हिँडेँहिँडेँ, तपाईंजस्तो नेता मान्छे एउटा कलाकारको पछिपछि त्यसै अल्लारिएर हिँडेको ? मैले जिस्काएँ साथीलाई । उहाँले मलाई पनिजिस्काउनु भयो, उहाँ नेताजीझन् जिस्काउन के चुक्नु हुन्थ्यो । दुवैजना खुब हाँस्यौ र आफ्नो त्यो ताल देखेर अलि लजायौं पनि। त्यो पनि राजेश हमालको त्यही उचाइको आकर्षण पो रहेछ ।

    यो उचाइ परबाट हेर्दा सुन्दर लाग्छ । पुग्न मन लाग्छ, त्यो ठाउँमा–लोभ लाग्दो ठाउँमाउभिन । नजिकबाट कस्तो लाग्दो हो ? आफूलाई भने त्यो ठाउँमा पुग्ने सौभाग्य कहिल्यै जुरेन जस्तो लाग्छ । त्यो ठाउँप्रतिको त्यति धेरै आशक्ति नभएर हो वा महत्व नबुझेर बेवास्ता गरेर हो, या नसकेर हो त्यहाँ पुगेको अनुभवभने कुनै तहमा पनि भएन ।

    एकचोटी भने जीवनमा अलिपुगिए झैं भएको थियो उचाइमा, परिवेशले त्यो महसुस नै हुनदिएन । कुरो नौ कक्षाको हो, सबैले गनगन गर्दागर्दा बल्ल प्रथम हुने सौभाग्य जुरेको थियो । सबैको अगाडि गएर एक दर्जन कापी, एक दर्जन सिसा कलम समातेर, अबिर लाएर फिस्स हाँस्दै सेता दाँत देखाएर स्टेजबाट तलझर्ने रहर केही कार्यक्रम नै नगरी सूचनाबोर्डमा टाँसेर नतिजा निकालेपछि सकिएको थियो । त्यो मेरो दर्जन कापी र सिसा कलमको रहर कहिल्यै पुगेन ।

    मान्छे उचाइबाट सजिलै तलझर्न चाहँदैन । मान्छेलाई त्यो अस्थायी हो भन्ने समयमै ज्ञान भैदिने हो भने धेरै अपराध कर्महरू सायद रोकिन्थे होलान् । यी उचाइका थुम्काहरु जताततै छन् । घरमा, परिवारमा, गाउँमा, देशमा, कलामा, साहित्यमा, सङ्गीतमा, राजनीतिमा जताततै । नमस्कार पर्खिरहेका, खादा ओढ्न काँध थापिरहेका, अबिर लाउन अनुहार प्रदर्शनमा राखेका, फूल लिन हातपसारिरहेका अनगिन्ती थुम्काहरु छन् । ठोकिइरहन्छन् जीवनभरि यीथुम्काहरु ।

    मलाई उचाइसँग केही दुस्मनी छैन । आफू तल बसेर माथि हेर्न पनि मलाई केहीगाह्रो लाग्दैन । मेरा साथीभाइहरू छन् माथि, म हेरेर रमाउँछु । मेरा कति आफन्तहरू छन् माथि, म तलगर्वले छाती तन्काउँछु । उनीहरूले भलै मलाई देख्दैनन् होला, चिन्दैनन् होला– त्यो मेरो समस्या हैन । मान्छेले उचाइ बनाउनु पर्छ, तर त्यो दम्भको, शक्तिको, पैसाको, लाजको नभएहुने भन्ने मेरो मनसायहो । अझ हामी सबै आआफ्नो कर्म गरिरहेका छौं, सबै कर्मको आफ्नै महत्व छ । उचाइ जे हामी सोच्छौं, भ्रम त हैन कतै ? मेरो जिज्ञासा हो यो ।

    गाउँ छोडेर पढ्न हिँडियो सानोमा । छुट्टीमा पहिलो पटक घर जाँदा सबै चीज सानो पो देखियो । आफ्नो घर सानो, बाआमा सानो, चिप्लेटी खेल्ने ढुङ्गा, हिँड्ने बाटो, बडेमानको लाग्ने पीपलको रुख, गाउँमाथिको ‘कालापार्थ’को डाँडो सबै साना । त्यतिमात्रै हो र, सधैं बगाउने डर लाग्ने भेरी नदीका ठूल्ठूला भेलहरू पनि साना ।

    मैले आमासँग पनि सोधेँ–आमा म त यताको सबै सानो देख्छु निअचेल ! धेरै समय पछि देखेर त्यस्तो लागेको होला–आमाको छोटो जबाफ थियो । मलाई आमाको उत्तर चित्त बुझेन।

    मेरा सपनाहरूले पखेटा हालेर त्यसो भएको हो वा मेरो बढिरहेको उमेर र पाको हुँदै गएको दिमागको परिणति थियो त्यो– म अनभिज्ञ छु । तर यति भने पक्का थाहा छ, ती मैले सानो या छोटो देखेका सबै केही फेरिएका थिएनन्– फेरिएको म थिएँ । हामी फेरिएको सोच्छौं, हामी अग्लिएको महसुस गर्छौं–जुन वास्तवमा सत्य नहुन पनि सक्छ, स्थायी त पक्कै हुँदै हुँदैन केही ।

    अहिले देश छाडेको २० वर्ष हुन लागेछ । आमा पनि हुनुहुन्न अब प्रश्न सोध्न । सम्झिँदा भने उचाइ त कतिहो कुन्नि ती बाल्यकालमा खेलेका मेरो गाउँका हरेक वस्तुहरूको, चढेका रुखहरूको, उफ्रिएका चट्टानहरूको, दौडिएका ढिस्का, डाँडाहरुको, चढेको बाकोकाँधको, उकालो बाटोको र सधैं छुन मन लाग्ने आकाशको– गन्तीगर्न नै मन छैन सम्झिनबाहेक । महत्व भने कतिकति धेरै बढेको छ अहिले– अभावमा थाहा हुँदोरहेछ महत्व ! उचाइ नापिने गणित भन्दा त महसुस हुने महत्व पो हो रहेछ– सिकाइ आआफ्नै होलान्, समयले यही सिकायो मलाई त !

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images