रौतहट ।रौतहटको गरुडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । उक्त झडपमा परी डीएसपीसहित सात जना प्रहरी घाइते भएका छन् ।
रौतहटको गरुडा नगरपालिका- २ मा आइतबार साँझ उक्त झडप भएको हो । निषेधाज्ञाको समयमा ठूलो भीडभाड गरी डिजे बाजा बजाएको पाइएपछि प्रहरीले बन्द गर्न भनेको थियो ।
त्यसपछि स्थानीयले आक्रमण गर्दा इलाका प्रहरी कार्यालयका डीएसपी द्वारिका घिमिरेसहित सात जना प्रहरी घाइते भएका हुन् । घिमिरेको रौतहटको ग्रान्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । उनको करङको हड्डी भाँचिएको बताइएको छ ।
प्रहरीमाथि आक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयले बिहेमा बजाएको डिजे बाजा नबजाउन तथा ठूलो भीडभाड नगर्न भनेपछि झडप भएको बताइएको छ ।