राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पृष्ठभूमि ऐतिहासिक हुँदा पनि किन अबमुल्याङ्कन ?
  • मनकुमारी जिसी

  • सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म २०१८ साल असार ५ गते पूर्वी नेपालको भोजपुर जिल्लाको मानेभञ्ज्याङ २ गुरासेमा भएको हो । विद्यादेवी भण्डारीको बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेबाट जन्मनु भएको हो । उहाँले जननेता मदन भण्डारीसँग २०३९ साउन २४ गते प्रगतिशील विवाह सम्पन्न भएको थियो । लामो राजनीतिक संघर्षशिल यात्राको क्रममा केही कलम चलाउन समय सान्दर्भिक रहेको छ ।

    २०३५ सालमा भोजपुर क्याम्पसमा अध्ययन गर्ने क्रममा तत्कालीन नेकपा (माले) सम्बद्व युवा लिगबाट राष्ट्रपति भण्डारीले राजनीति यात्राको आरम्भ गर्नु भएको थियो । २०३७ मा काठमाडौँमा आयोजित अनेरास्ववियुको पाचौं राष्ट्रिय सम्मेलनमा प्रतिनिधि हुनुहुन्थ्यो । २०३७ सालमा पार्टी सदस्यता प्राप्त २०४४ सालसम्म अनेरास्ववियु (एकताको पाँचौ)को पूर्वाञ्चल सदस्य र ०३९/४० मा महेन्द्र मोरङ क्याम्पस बिराटनगरको स्ववियु कोषाध्यक्ष रहनु भएको थियो ।

    २०४६ मा काठमाडौँ कीर्तिपुरमा आयोजित अखिल नेपाल महिला संघको पहिलो महिला राष्ट्रिय सम्मेलनमा मोरङबाट प्रतिनिधित्व र २०५०-२०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को केन्द्रीय महिला विभाग प्रमुख रहनु भएको थियो । २०५५ सालमा बिराटनगरमा सम्पन्न अनेमसंघको चौंथो राष्ट्रिय अधिबेशनबाट अध्यक्ष निर्वाचित हुनुभयो । २०६२(०६९ का चौथो र पाचौं राष्ट्रिय महाधिवेशनबाट तीन पटक अनेमसंघको अध्यक्ष निर्बाचित हुनुभयो ।

    २०५४ मा नेपालगन्जमा सम्पन्न पार्टिको छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनुभएको थियो । तत्पश्चात २०५९ को सातौं महाधिवेशनबाट पुन: केन्द्रीय कमिटी सदस्य चुनिनु भएको थियो । २०७१असार १९ देखि साउन १ गते सम्म काठमाडौँ भृकुटीमण्डपमा नवौं राष्ट्रिय महाधिवेशनबाट दुई पटकसम्म पार्टीको केन्द्रीय उपाध्यक्ष निर्वाचित हुनुभयो ।

    २०५० जेठ ३ को दासढुङ्गा हत्याकाण्डपछि काठमाडौँ -१ को उपनिर्वाचनमा उम्मेदवार भई पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति कृण्णप्रसाद भट्टराईलाई पराजित गरि पहिलो पटक सांसद चुनिनु भएको उहाँ २०५१ र ०५६ मा गरी तिनपटक सांसद निर्वाचित हुनुभयो । यसै सिलिसलामा सुरुमा जनसंख्या तथा वातावरण मन्त्री तत पश्चात् पहिलो महिला रक्षामन्त्री, सफलतापुर्बक कार्यसम्पादन गर्नु भयो । २०७० को संबिधान सभाको निर्वाचनमा समानुपातिक तर्फ सभासद छानिनु भएको नयाँ संविधान निर्माणको क्रममा अग्रणि र नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको सबैलाई बिदितै छ ।

    नेपालको पहिलो महिला राष्ट्रपति २०६५ जेठ १५ गते मुलुक संघिय लोकतान्त्रीक गणतन्त्रमा रुपान्तरण भए पछि नेपालको दोस्रो राष्ट्रपति निर्वाचित हुनुभयो । २०७२ कार्तिक ११ गते व्यवस्थापिका संसदमा भएको मतदानमा ३२७ मत प्राप्त गरि पहिलो राष्ट्रपति महिला हुनु भएको हो ।

    यसरी नेपालको राजनीतिक तथा व्यवस्था परिवर्तनको लागि ज्यानलाई रुपान्तरणको पक्षमा उभ्याउनुभएको राष्ट्रपति विद्यादेवी भण्डारीलाई वर्तमान समयमा आएर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्मानीत व्यक्तिलाई खुइल्याउने गतिविधि तिव्र बनेको छ । स्वतन्त्रताको अधिकार छ भन्दैमा चरम दुरुपयोग गरी साइवर अपराधीक गतिविधिहरु हुनु दुःखद् पक्ष हो । यसले सम्माननीय राष्ट्रपति मात्र हैन, आम नेपाली नागरिकमा समेत यस्ता अराजक गतिविधिहरुलाई टाढा राख्नु जरुरी रहेको छ । जसको लागि सामाजिक सञ्जालको प्रयोग तथा यसको नियमन गर्नुपर्ने अनिवार्य आवश्यकता हुँदै गएको छ ।

    सामाजिक सञ्जालमा हुने यस्ता नकरात्मक गतिविधिले समाजमा हत्या, हिंसा, वलात्कारजस्ता जघन्य अपराधिक गतिनविधिहरु समेत दिनानुदिन बढ्दै गएका छन् । जसले गर्दा आगामी दिनमा समाजमा ठूलो द्वन्द्व निम्तने खतरा समेत बढ्दै गएको छ । जसले गर्दा सामाजिक सञ्जालमा हुने यस्ता अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्न सम्बन्धीत निकायले वेलैमा सोच्नुपर्ने हुन्छ ।

         – मनकुमारी जिसी, केन्द्रीय सदस्य, नेकपा एमाले

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images