विद्युतीय सवारीलाई प्रोत्साहन गर्न थप रणनीतिक कार्यक्रम ल्याउन माग
  • SNN Nepal

  • काठमाडौ । विद्युतीय सवारी साधनको प्रोत्साहनका लागि आवश्यक थप रणनीतिक कार्यक्रम ल्याउन सरोकारवाला व्यक्तित्वहरुले सरकारसँग माग गरेका छन् । हालैमात्र सम्पन्न विश्व वातावरण दिवसको अवसरमा आयोजित विद्युतीय सवारी साधनमा सरकारी नीति र आगामी सम्भावना विषयक कार्यक्रममा बोल्दै सरोकारवाला व्यक्तित्वहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका विद्युतीय सवारी साधन समितिका सभापति ध्रुव थापाले अहिलेको अवस्थामा विद्युतीय गाडी वातावरणीय प्रभाव र आर्थिक लाभका दुबै दृष्टिकोण फलदायी भएपनि त्यसलाई निरन्तरता दिन नसकिएको बताउँदै यसतर्फ ध्यान दिन सरकारसँग आग्रह गरेका छन ।

    सो अवसरमा उनले अटोमोबाइल व्यवसायीहरूसमेत विद्युतीय गाडी आयात गर्न र व्यवसाय गर्न चाहेपनि सरकारको अस्थिर नीतिकै कारण अप्ठेरोमा परेको बताए । उनले भने, ‘अब विद्युतीय गाडी आयातलाई मात्र होइन सरकारले यस्ता गाडी स्वदेशमै उत्पादन गर्न समेत सहजीकरण गर्नुपर्छ ।’

    यस्तै, नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन (नेभा) का अध्यक्ष नवराज पौडेलले सरकारले पेट्रोलियम सवारी साधनबाट प्रशस्तै राजस्व उठाएतापनि यसले निम्त्याएको प्रदूषणको घाटा त्यसले पूर्ति गर्न नसक्ने बताए । नेपालमा प्रशस्तै विद्युत उत्पादन भइरहेको सन्दर्भलाई जोड दिँदै पौडेलले यसका लागि सरकारले आवश्यक सकारात्मक नीति ल्याउनुपर्ने बताए ।

    अटोमोबाइलको अन्तर्राष्ट्रिय संस्था एफआईएको इन्भाइरोमेन्ट एन्ड सस्टेनेबल कमिसनका सदस्य समेत रहेका अटो स्र्पोट (नासा) का अध्यक्ष गोविन्द भट्टराईले आगामी सन् २०३० देखि मोटर स्पोर्ट्स समेत इलेक्ट्रिक तर्फ हुने तयारी भएको बताउँदै तत्काल नभए पनि भविष्यमा यसलाई नकार्न नसकिने बताए ।

    इलेक्ट्रिक गाडी विशेषज्ञ अशोक पंगेनीले यस्ता गाडीका ब्याट्रीलाई उपयुक्त तरिकाले चार्ज गर्दा लाइफ बढाउन सकिने र रिसेल भ्याल्यू समेत बढ्ने बताए । ब्याट्रीको मूल्य समेत लगातार रुपमा घटिरहेको र टेस्ला लगायतका विभिन्न कम्पनीहरुले उत्पादन बढाउने तयारी गरिरहेकाले भविष्यमा यस्ता गाडी अझै कम मूल्यमा उपलब्ध हुने बताए ।

    इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स ९आईएई० नेपालका अध्यक्ष सुशील तण्डुकारले अहिलेको अवस्थामा इलेक्ट्रिक सवारी साधन मर्मतका लागि डेडिकेटेड वर्कसपको व्यवस्था प्रतिष्ठित कम्पनीहरुले समेत नगरेको र तालिम प्राप्त मेकानिक्स समेत नभएको बताए । यस्ता कुराहरुमा सुधार गर्न सबै लागि पर्नुपर्ने कुरा व्यक्त गरेका छन् ।

    सो अवसरमा यातायात व्यवस्था विभागका प्राविधिकतर्फका निर्देशक रामचन्द्र पौडेलले विद्युतीय सवारी साधन सम्बन्धमा सरकारले लिएको नयाँ नीति र पहिले देखि नै सञ्चालनमा रहेका विभिन्न नीति तथा कार्यक्रमको वारेमा विस्तृत रुपम जानकारी दिएका थिए । कार्यक्रम नेपाल अटो डट् कमको सहकार्यमा भर्चुअल माध्यमबाट भएको हो ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images