प्रदेश २ : निर्वाचन विकासक्षेत्रको रकम दोब्बर बनाउन माग गर्दै विपक्षीले गरे प्रदेशसभा अवरुद्ध
  • SNN Nepal

  • प्रदेश । निर्वाचनक्षेत्र विकास कार्यक्रमको रकम बढाउन माग गर्दै प्रदेश- २ का प्रमुख प्रतिपक्षी नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सरकारले ल्याएको बजेट टेबल हुन रोकेका छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकमको दायरा अघिल्लो वर्षजतिकै राखिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

    एमालेका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले निर्वाचनक्षेत्र विकास कार्यक्रमबाट समानुपातिक ढंगले राम्रो विकासको काम भएको भन्दै समानुपातिक सांसदहरूको २ करोड ५० लाख र प्रत्यक्ष निर्वाचितलाई ५ करोड पुर्‍याउन माग गरे ।

    ‘प्रदेश सरकारको बजेट खर्च नभएर फ्रिज भइरहेको छ । सशर्त अनुदानको अन्तिम अवस्थामा बजेट गएकाले खर्च हुने अवस्था छैन्,’ उनले भने, ‘तर दुई वर्षदेखि एउटै दररेटमा एकै नासले निर्वाचनक्षेत्र विकास कार्यक्रममा बजेट खर्च विनियोजन गरिएको छ । सबै क्षेत्रमा समानुपातिक विकास गर्न र बजेट फ्रिज हुनबाट जोगाउन यो रकम बढाऔँ ।’

    दुई वर्षदेखि प्रदेश निर्वाचनक्षेत्र विकास कार्यक्रमका लागि समानुपातिक सांसदलाई १ करोड र प्रत्यक्ष निर्वाचितलाई ३ करोड रुपैयाँ तोकिएको छ । एमाले सचेतक विश्वकर्माको प्रस्तावमा माओवादीका प्रमुख सचेतक दिलिप साहले समर्थन जनाएका थिए ।

    आथिर्क मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रदेशसभामा बजेट प्रस्तुत गरेपछि ३० मिनेटका लागि स्थगित भएर पुनः बसेको बैठकमा एमाले र माओवादीका सांसदहरूले अबरुद्ध गरेका हुन् । बैठक सुरु हुनासाथ उनीहरूले उभिएर विरोध गरेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । यद्यपि करिब एक घण्टा हुन लागे पनि बैठक बस्न सकेको छैन ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images