विपद् प्रतिकार्य योजना पारित, सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय
  • SNN Nepal

  • काठमाडौँ । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

    गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको छ ।’

    सिन्धुपाल्चोकको मेलम्ची बजारमा अवस्थित एक होटलमा फसेका चार जनालाई तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको भन्दै पोखरेलले त्यो आफूहरुले ‘रियल टाइम बेसिस’मा काम गर्दै आएको उदाहरण भएको बताउनुभयो । यसैगरी नुवाकोटको दुप्चेश्वरमा ठूलो ढुंगा भिरमा अड्किएको र त्यसले समुदायमा क्षति पुर्याउउन सक्ने भएकाले त्यसलाई व्यवस्थापन गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images