सुदूरपश्चिम एमाले विवादः ओली पक्ष सभामुख थापालाई मुख्यमन्त्री बनाउन तयार, माधव पक्ष भन्छ -चर्चा मात्रै हो
  • SNN Nepal

  • एमाले एकढिक्का हुने हो भने सुदूरपश्चिम प्रदेशमा उसकै नेतृत्वमा सरकार बन्ने स्थिति छ । एमालेका दुई समूहका नेताहरूले एकअर्कालाई अस्वीकार गर्न थालेपछि विकल्पका रूपमा सभामुख अर्जुनबहादुर थापालाई मुख्यमन्त्री बनाउने गरी आन्तरिक कसरत चलिरहेको छ ।

    ५२ सदस्यीय प्रदेशसभामा २५ सिट रहेको एमाले एकढिक्का हुँदा उसलाई सरकार गठनका लागि थप दुई मत भए पुग्छ । तर, एमाले स्वयम् नै अहिले एकढिक्का भइसकेको स्थिति छैन ।

    सुदूरपश्चिम प्रदेश संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ । पार्टीले सरकारबाट बाहिरिन निर्देशन दिए पनि उक्त समूह हालसम्म माओवादी नेता त्रिलोचन भट्ट नेतृत्वको सरकारमा सहभागी छ । त्यसैले सरकार गिराउने पक्षमा देखिएको छैन ।

    एमाले संसदीय दलका नेता प्रकाश शाह, तारा लामा तामाङ तथा पठानसिंह बोहराले मुख्यमन्त्रीमा दाबी गरेका छन् । तर, एक(अर्काले नस्वीकार्दा विकल्पमा सभामुख अर्जुनबहादुर थापाको चर्चा हुन थालेको हो ।

    ओली पक्षका एक नेताका अनुसार, सभामुख थापालाई राजीनामा दिन लगाएर मुख्यमन्त्री बनाउने विषयमा आन्तरिक छलफल भइरहेको छ । ओली पक्ष सभामुख थापालाई मुख्यमन्त्री बनाउन सकारात्मक रहेको ती नेताले बताए । सभामुख थापा माधव नेपाल पक्षका हुन् ।

    थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा जनता समाजवादी पार्टीका दुई सांसदको समर्थन प्राप्त हुने ओली पक्षको अनुमान छ । मुख्यमन्त्रीले विश्वासको मत लिँदा एमालेको ओली पक्षलाई जसपाका दुई सांसदले साथ दिएका थिए ।

    प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् । ५२ सांसद रहेको प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक हुन्छ ।

    एमाले सुदूरपश्चिम संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी विक केन्द्रमा देखिएको पार्टी विवाद प्रदेशमा पर्न दिन नहुने बताउँछिन् । केन्द्रमा विवाद भइरहे पनि प्रदेशमा भने मिलेर जान सकिनेबारे छलफल भइरहेको उनले बताइन् ।

    उपयुक्त समय होइन  माधव पक्ष

    सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी नेपाल पक्षकी नेतृ पूर्णा जोशी तत्काल सरकार परिवर्तन गर्नु उपयुक्त नहुने बताउँछिन् ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेकी जोशीले सरकार परिवर्तनको विषय ल्याएर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताइन् । मुख्यमन्त्री भट्टले विश्वासको मत लिइसकेकाले तत्काल सरकार परिवर्तन गर्नु उपयुक्त नरहेको उनको भनाइ छ ।

    मुख्यमन्त्रीले विश्वासको मत लिनुअघिसम्म एमालेको नेतृत्वमा सरकार बनाउन दुवै पक्षबीच गम्भीर छलफल नभएकाले अहिले छलफल चलाउनुको अर्थ नभएको उनी बताउँछिन् । ‘माओवादीलाई छाडौँ र मन्त्रालयको कार्य विभाजन गरौँ भन्ने कुरा कहिल्यै आएन,’ उनले भनिन्, ‘त्यस्तो प्रस्ताव आएको भए त्यसमा छलफल हुने थियो ।

    उनले सभामुख थापालाई मुख्यमन्त्री बनाउने कुरा चर्चामै सीमिति रहेकाले तत्काल नतिजा ननिस्कने बताइन् ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images