बेपत्ता २० मध्ये ४ जना सम्पर्कमा, थप एकको शव फेला
  • SNN Nepal

  • काठमाडौँ ।अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा बेपत्ता भएका २० जनामध्ये चार जना सम्पर्कमा आएका छन् ।

    आज बिहान एक जनाको शव पनि फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

    मृतक सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक छन् । उनको नाम पत्ता लागी नसकेको खनालले बताए ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अझै पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत २ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भएका छन् । यसअतिरिक्त अरु ८ जना स्थानीय सम्पर्कबिहीन भएको प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    उनीहरुको खोजी जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

    बुधबार दिनभरमा ७४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ । घाइते भएका ५ जना मध्ये ४ जनाको अस्पालमा उपचार भइरहेको छ । एक जनाको धुलिखेल अस्पताल र ३ जनाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

    उनका अनुसार बाढी पहिरोका कारण हालसम्म चार पक्की पुल र पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै नदी आसपासमा रहेका सात वटा माछा फार्म बगेका छन् ।

    बाढीबाट मेलम्ची नगरपालिकाका ६०० जना र हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीयवासी प्रभावित भएको प्रशासनको आकलन छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images