के थियाे ओशोको उद्देश्य ?
  • SNN Nepal

  • बाल्यकालदेखि नै तार्किक र विद्रोही स्वभाव भएकाले मानिसहरू उनलाई देखेर छक्क पर्थे । आफ्ना बाबुले मन्दिरमा लगेर मूर्तिको अगाडि शिर निहुर्‍याउन आग्रह गर्दा उनले इन्कार गरिदिन्थे । त्यतिबेलै उनी भन्थे, ‘मलाई राम्रो स्वास्थ्य चाहिए कसरत गर्छु र सम्पत्ति चाहिए श्रम गर्छु तर ढुंगाको अगाडि शिर निहुर्‍याउदिनँ ।

    सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेका ओशो मौलिक दृष्टिकोण र तर्कले सम्पन्न अनौठा दार्शनिक हुन् । तर, उनले आफूलाई दार्शनिकको रूपमा होइन कविको रूपमा सम्झना गरियोस् भन्थे, ‘किनकि मेरो सिंगो जीवन काव्यात्मक छ ।’

    विश्वभर ओशोका लाखौं अनुयायी छन् । उनका लाखौं पुस्तकहरू बिक्री भइसकेका छन् । ६५० भन्दा बढी पुस्तकहरू ५५ भाषामा उपलब्ध छन् । आज पनि ओशोको पुने आश्रम वार्षिक दुई लाख पर्यटकले अवलोकन गर्छन् । उनका दार्शनिक पुस्तक पनि उपन्यासजस्ता छन् । ती पुस्तकले पाठकलाई आध्यात्मिक दर्शनको उडानमा लैजान्छन् । उनले कहिल्यै आफूले पुस्तक लेखेनन् । उनका प्रवचनको रेकर्डलाई पुस्तकको रूप दिइयो ।

    मैले पनि ओशोका कैयौं पुस्तक पढेको छु । एकै व्यक्तिका त्यति ठूलो सङ्ख्यामा पुस्तक प्रकाशित हुँदा विषयवस्तु दोहोरिनु त कतै एक पुस्तक अर्कोसँग विरोधाभासजस्तो देखिनु अस्वाभाविक भएन । रजनीश आफैंले पनि भनेका छन्, ‘म मेरो शरीर छोडेर जाँदा मेरा करिब एक हजार पुस्तक छोडेर जानेछु । ती पुस्तकहरू आपसमा विरोधाभासपूर्ण समेत हुनेछन् । यसले तिमीलाई आफैं सत्यको खोज गर्न प्रेरित गर्नेछन् ।

    एकै व्यक्तिसँग दर्शन, मनोविज्ञान, विज्ञान, अध्यात्म, राजनीति, इतिहास, संस्कृति, शिक्षालगायतका अनेकौं विधाको विशाल ज्ञानको भण्डारण हुन सक्नु असाधारण प्रतिभा हो । उनले नबोलेको विषय सायदै छ । जुन विषयमा उनी बोल्न सुरु गर्थे, आफ्नो विशाल ज्ञानको सागरलाई श्रोतासामु छताछुल्ल पारिदिन्थे ।

    अध्ययनमा उनको अचम्मको आकर्षण थियो । उनकै शब्दमा, पढ्नमा उनले खुब आनन्द लिन्थे । उनको व्यक्तिगत पुस्तकालय संसारकै ठूलो व्यक्तिगत पुस्तकालयमध्येको एकमा पर्छ । जीवनको उत्तरार्धतिर आफूले संसारमै सबैभन्दा धेरै पुस्तकहरू पढेको बताउँथे । उनले आफूले १ लाख ५० हजार पुस्तक पढेको दाबी गरेका छन् । तीव्र गतिमा पढ्ने र पढेका विषयवस्तुको ‘फोटोग्राफी’ गर्ने उनको अचम्मको कला थियो । हुन पनि उनका प्रवचनमा विशाल अध्ययन र स्मृतिको असाधारण शक्ति देखिन्छ ।

    उनी बोल्न सुरु गरेपछि हजारौं श्रोता सम्मोहनमा पर्थे । त्यो समय यति सुनसान हुन्थ्यो, लाग्थ्यो माथिबाट एउटा सियो खस्यो भने पनि सुनिन्छ । एक पटक रजनीशको प्रवचनमा पुगेको व्यक्ति चुम्बकले तानेजस्तै आकर्षित भइहाल्थ्यो । त्यसैले त पुनेको रजनीश आश्रममा हरेक दिन ५ देखि १० हजार मान्छे उनलाई सुन्न पुग्थे । क्रमशः पुने आश्रम स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्न पुग्यो । हजारौं पश्चिमा पर्यटक जहाज चढेर आउँथे केवल उनको सानिध्यमा रहन । पर्यटनको कारण पूने शहर सम्पन्नता र रंगले भरियो । भनिन्छ, आश्रमकै कारण तत्कालीन समयमा भारतको पर्यटन व्यवसाय १५ प्रतिशतले बढेको थियो ।

    जब व्यक्तिलाई कसैसँग केही लिनुदिनु हुँदैन तब आफ्नो ब्रह्मले देखेको कुरा बोल्न कुनै डर मान्दैन । रजनीशले कसैसँगबाट सित्तैमा केही लिनु थिएन । त्यसैले उनको निसानामा राजनीतिज्ञदेखि धार्मिक पण्डितहरूसम्म परे । उनी कहिले साम्यवादको विरुद्धमा खनिन्थे त कहिले पुँजीवादी मुलुक अमेरिकाको छातीमै ‘कम्युन’ स्थापना गरिदिएर त्यहाँका शासकलाई तर्साउँथे ।

    रजनीशले विभिन्न धार्मिक समुदायमाथि हमला गरे । धर्मको खोल ओढेर कमाउने धन्दामा सक्रिय कथित धार्मिक पण्डितलाई नाङ्गो बनाइदिए । धर्मको वैज्ञानिक व्याख्या गरिदिए । साम्यवादको नाममा विश्वभर चलिरहेको हत्या, हिंसा, आतंक र तानाशाहवादको विरोधमा उत्रिए । हिटलर, स्टालिन र माओविरुद्ध बोले । प्रेम, अहिंशा, मानवता र मुक्तिको बृहत व्याख्या गरे, विश्वमा यिनै चिजको विस्तार गर्नु आफ्नो कर्तव्य रहेको बताए ।

    रजनीश कसैसँग डराउने व्यक्ति थिएनन् । उनको यो तार्किक, निडर र हक्की स्वभाव बाल्यकालदेखि नै विकसित भएको थियो । शिक्षकले सजाय दिन खोज्दा विद्यार्थीमाथि हातपात गर्नु अपराध भएको र हातपात गरे प्रहरी बोलाउने धम्की दिन्थे । उनको तार्किक धम्कीमा शिक्षकहरू निरीह बन्थे । शिक्षकसँग उनको सायदै मात्र तालमेल मिल्थ्यो ।

    रजनीशले विश्वविद्यालयमा दर्शनशास्त्र पढ्दै गर्दा कक्षामा प्राध्यापकहरूसँग बहसमा उत्रिन्थे । यसो हुनुको पछाडि एक कारण थियो । प्रोफेसरहरूको ज्ञान थोरै थियो । अतिरिक्त पुस्तक अध्ययन गर्ने यिनीहरूको बानी हुँदैनथ्यो । दशकौं अगाडिका सीमित र बासी ज्ञान बोकेर प्रोफेसर कक्षाभित्र प्रवेश गर्थे, जुन सूचना वा ज्ञान रजनीशजस्ता अध्ययनशील विद्यार्थीका लागि अपूर्ण हुन्थ्यो ।

    पढाइप्रति अत्यधिक आकर्षणको कारण दर्शनशास्त्रमा समेत प्राध्यापकको भन्दा रजनीशको ज्ञान निकै माथि पुगिसकेको थियो । त्यसको दबाब प्राध्यापकले थेग्न नसकेपछि २०र२१ वटा क्याम्पसबाट रजनीश निष्कासित हुनुपरेको थियो ।

    विश्वविद्यालयको डिग्री हासिल गरेपछि रजनीश केही समय विश्वविद्यालयमा अध्यापन गराउन थाले । दर्शनशास्त्रजस्तो गम्भीर र निरश विषयमा समेत उनको कक्षामा विद्यार्थीको चाप अत्यधिक बढी हुने गर्थ्यो । अरू कक्षा ‘बंक’ गरेर विद्यार्थी उनको कक्षामा सुन्न आउँथे ।

    यही समय रजनीश देशभर प्रवचन दिएर हिँड्न थाले । उनी जहाँ पुग्थे उनका कुरा सुन्न मानिसको भीड उर्लिएर आउँथ्यो । अब रजनीशको जीवनले नयाँ मोड लिनेवाला थियो । आफ्नो अभूतपूर्व वाक् कला र विशाल ज्ञानको भण्डारणको उपयोग गर्दै १९६० को दशकमा ‘जीवन जागृति केन्द्र’ नामको ध्यान केन्द्रको स्थापना गरे । भारतको पूनेमा २५ हजार वर्ग किलोमिटर क्षेत्रफलमा आश्रम खडा गरे ।

    यो आश्रम अध्यात्मको वैज्ञानिक र प्रयोगात्मक केन्द्र थियो । मानसिक तनाव र कुण्ठाबाट पिल्सिएका मानिसलाई यहाँको ध्यान र ज्ञानको सागरले शान्ति र आनन्दले आकर्षण गर्‍यो । ओशोले त्यहीँ प्रवचनका शृंखला सुरु गरे । विश्वविद्यालयको जागिरबाट राजीनामा दिए ।

    ओशोले मान्छेलाई आकर्षित गर्न सबै विषयमा प्रवचन दिन्थे । सबै उमेर, लिंग, वर्ग, वाद र धर्मका मानिस उनका श्रोता बने । संसारका हरेक विचार र सिद्धान्तप्रति उनको आफ्नै दृष्टिकोण थियो । कुनै गुट, धर्म, जात, राजनीति विशेषको समूह आफूनजिक रहेको चाल पाउनेबित्तिकै रजनीश उनीहरूको उछित्तो काड्थे । आफू कुनै वाद वा सिद्धान्तको कैदमा नरहेको जनाउ दिन पछि पर्दैनथे । उनले दर्जनौं ध्यान पद्धतिको प्रतिपादन गरे । बसेर मात्रै होइन, संगीतको तालमा उठेर र नाचेर गरिने ध्यान पद्धतिको विकास गरिदिए । यसको अभ्यास ओशो तपोवनमा पनि देख्न सकिन्छ ।

    रजनीशको स्वकीय सचिव भई काम गरेकी मा आनन्द शीलाले आफ्नो पुस्तक ‘डन्ट किल हिम’ मा रजनीशसँगका क्षण सम्झिँदै लेखेकी छन्, ‘कुनै पनि विश्वविद्यालयले त्यति बृहत् ज्ञान दिन सक्दैन । रजनीशसँग सँगै बस्दाको हरेक सेकेन्ड एउटा सिंगो सेमेस्टरजस्तो लाग्थ्यो । रजनीशले आफ्ना शिष्यलाई भोलि गरे पनि हुने काम आजै गर्न निर्देशन दिन्थे । उनका लागि भोलि भन्ने शब्द थिएन । कि अहिल्यै हुन्छ अन्यथा कहिल्यै हुँदैन । रजनीशलाई कुनै सल्लाहकारको जरुरत थिएन । उनी केवल निर्देशन दिने व्यक्ति थिए । उनका हरेक क्षण कुनै महान् उद्देश्य प्राप्तिका कदमजस्ता लाग्थे ।

    उनको आश्रममा ध्यान, योग, थेरापी र प्रवचनका लागि मान्छे पैसाको खोलो बगाइदिन्थे । पैसाबारे उनको धारणा छ, ‘पैसा मानिसको लक्ष्य बन्न हुँदैन । यसो भन्दै गर्दा म पैसाको विरुद्धमा छैन । मैले तिमीलाई भिखारी बन भन्दिन । पैसा एउटा राम्रो साधन हो , यसको भरपुर प्रयोग गर ।

    रजनीशले आफ्नो कलालाई व्यापारमा परिणत गर्न चुकेनन् । आश्रममा आउने मान्छेसँग पैसा उठाइएकोबारे उनको तर्क थियो, ‘हामीले मानिसको प्रकृति बुझ्नुपर्छ । मानिसले केही चीज पाउन पैसा तिर्दैन भने आफूले केही पाइयो भन्ने कुरामा विश्वास गर्दैन । तर, मानिसले पैसा तिरेर पनि उसको अपेक्षाअनुसार केही पाएन भने पनि बरु उसले केही भन्दैन, किनभने यसो भनेर व्यक्ति आफैं मूर्ख भएको सावित गर्न चाहन्न ।’

    ओशोको आश्रमको व्यवस्थापन गर्ने जिम्मा प्राय महिलालाई दिन्थे । आश्रमलाई बुद्धि र विवेकले होइन, हृदयले संचालित भएको हेर्न चाहन्थे । उनीहरू आक्रामक हुँदैनन् । धैर्य र शान्त हुन्छन् ।

    प्रवचनको दौरानमा सन् १९६८ मा रजनीश प्रेम र यौनको विषयमा प्रवेश गरे । त्यति बेलाको भारतीय समाजमा यौनको विषयमा कुरा गर्नुसमेत लाजको विषय हुन्थ्यो । तैपनि मानिसको मन यौनको कुण्ठाले भरिएको थियो । मानिस यौनको जबर्जस्ती दमनबाट मुक्ति खोजिरहेका थिए । यस अवस्थालाई रजनीशले चाल पाइहाले । त्यसैले यौनको विषयमा स्वच्छन्द र उन्मुक्त ढङ्गले प्रवचन शृंखला सुरु गरे । यौनको दमनबाट छटपटिएका मानिसलाई रजनीशले छहारी प्रदान गरे ।

    रजनीशले बाहिर जबर्जस्ती यौनलाई खराब भन्दै दमन गर्ने तर भित्र दिमागभरि यौनलाई बोकेर हिँड्ने पण्डित, साधु, सन्त, सामाजिक संस्कार र परम्परामाथि आक्रमण गरे । रजनीशको भनाइ छ, ‘यौनजस्तो प्राकृतिक प्रक्रियालाई मान्छेले विकृत बनाएको छ । यौनको दमनले मान्छेको सिंगो जीवन यौनको वरिपरि चक्कर लाइरहेको छ । पृथ्वीका पन्चानब्बे प्रतिशत कथा, कविता, उपन्यास, सिनेमा, कला तथा गीत यौनकेन्द्रित हुनु पनि यौन दमनको परिणाम हो ।’ ‘सम्भोगबाट समाधितिर’ भन्ने विश्व चर्चित पुस्तक तिनै प्रवचनको संग्रह हो ।

    भारतीय साधु सन्तको ध्यानका लागि व्रत लिने र ब्रह्मचार्य पालना गर्नुपर्ने नियमप्रति उनको ठाडो विरोध थियो । जबर्जस्ती ब्रह्मचर्यको कुनै महत्त्व नहुने भन्दै त्यस्ता मान्छे झन् कामुकताले भरिएका हुन्छन् । ध्यानको बाधा नै व्रतको नाममा शरीरले पाउने कष्ठ र ब्रह्मचर्यको रूपमा मनको छटपटी हुन् । चित्त र शरीर शान्त बस्दा मात्रै ध्यान सम्भव हुने उनको तर्क थियो ।

    त्यसैले सचिव शिला भन्छिन्, ‘रनजीश के हुन् भन्न गाह्रो छ । उनी सबै हुन् र कोही पनि होइनन् । उनीसँग सिंगो मानवजाति आफूमा समाहित गराउने खुबी छ । उनी जिसस, मोहम्मद दुवै हुन् । उनी जब कृष्णबारे बोल्छन् कृष्ण भइदिन्छन् । बुद्धबारे बोल्दा उनी बुद्ध भइदिन्छन् ।

    एक पटक पुना आश्रममा रजनीशले प्रवचन दिइरहेको बेलामा एउटा मान्छेले चक्कु उनीतिर फ्याँक्यो । संयोगवश चक्कु उनको नजिकैबाट मात्र पार गर्‍यो । तर रजनीशले चक्कु देखेर एक पटक पनि आँखा झिम्क्याएनन् । प्रवचन एक पटक पनि रोकेनन् । आक्रमण कसले गर्‍यो, चक्कु कहाँबाट प्रहार भयो भन्नेसँग उनको कुनै सरोकार रहेन ।

    सन् १९८१ मा रजनीश अमेरिका पुगे र ओरेगन राज्यको एक ठाउँमा फालिएको ६४ हजार एकड क्षेत्रफलको बाँझो जमिन किने । चार वर्षभित्र त्यो विशाल मरुभूमिजस्तो जमिनलाई सुव्यवस्थित सहरमा परिणत गरिदिए, जुन सहरभित्रै विमानस्थल थियो । आफ्नै ५ वटा विमान थिए । ५ सय गाडी थिए । ५००० जना मान्छे एउटै परिवार भएर बस्थे । अमेरिकाजस्तो पुँजीवादी मुलुक जसलाई कम्युनिस्टको जस्तो विशाल संघ स्थापना भएको चित्त बुझेन ।

    यसमाथि चर्च र पोप उनको प्रवचनको निशानामा पर्थे । अमेरिकाले एकपछि अर्को गर्दै रजनीशलाई दुःख दिन थाल्यो । विभिन्न बाहानामा पक्राउ गर्‍यो । व्यवस्थित सहरलाई छिन्नभिन्न बनाइदियो । र, अन्त्यमा अमेरिकाबाट निष्कासित गरिदियो ।

    ओशो रजनीशले आफ्नो वाक् र तर्क शक्तिको बलमा विश्वभरका राजनीतिज्ञलाई थर्कमान बनाइदिए । एउटा यस्तो व्यक्ति जो पूर्ण रूपमा निःशस्त्र छ । जोसँग साथमा शब्द र तर्क मात्र छ, त्यस्तो व्यक्तिलाई विश्वका एक्काइसभन्दा बढी मुलुकले प्रवेश दिन इन्कार गरे । किनकि, उनले लगातार राजनीतिज्ञमाथि खुला आक्रमण गरेका थिए । तर, विश्वका बुद्धिजिवी वर्ग उनको विचार र दर्शनलाई उच्च कोटिको रूपमा हेर्ने गर्थे ।

    ओशोले विश्वका सबै समस्याको कारक राजनीतिज्ञ र धार्मिक पण्डितहरूलाई ठान्थे । ‘राजनीतिमा सबैभन्दा अयोग्य व्यक्ति लाग्ने गर्छन् । राजनीतिमा कुनै बुद्धि चाहिँदैन । किनकि, बुद्धिमान व्यक्ति बेइमान हुन सक्दैन । बुद्धिमान व्यक्तिले धोका दिन सक्दैन । बुद्धिमान व्यक्ति झुठ बोल्न सक्दैन । राजनीति केवल झुठको आश्वासन हो ।’

    गान्धीमाथि पनि उनको निशाना थियो । गान्धी वास्तविक हिन्दु नभएको तर भारतीय बहुसंख्यक हिन्दुहरूको मत लिन हिन्दु भएको अभिनय गरेको उनको आरोप थियो । गान्धीले विज्ञानलाई उपेक्षा गरेको र भारतको गरिबीको प्रवर्तक भएको आरोप लगाउँथे ।

    उनको तर्कका अगाडि मानिस सर्वथा नांगिन्थ्यो । एक पटक गान्धीलाई पत्र लेख्दै उनले सोधेका थिए, ‘तपाईं अहिंसामा विश्वास गर्ने मान्छे किन भागवत गीतालाई सधैं पूजा गर्नहुन्छ रु जबकि, सम्पूर्ण गीता कृष्णद्धारा अर्जुनलाई युद्धको निम्ति उचाल्नमा केन्द्रित छ ।’

    विवाहलाई इन्कार गरेका रजनीशले के तपाईंलाई कहिल्यै आफ्नो बच्चा होस् भन्ने चाहना भएन भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘अहँ भएन । यो पृथ्वी पहिल्यै मानिसको भीडले थिचिइसकेको छ । म यो भीडमा अर्को नयाँ पात्र थप्न चाहन्न ।’

    ओशोको उद्देश्य के थियो रु उनको उत्तर थियो, ‘नयाँ मान्छे सिर्जना गर्नु । नयाँ मान्छे, जो उच्च क्षमतामा बाँच्छ, बुद्धत्वको सम्भावना बोक्छ, जो आफ्ना लागि जेल बनाएर एक कैदीको जिन्दगी बाँच्दैन, जो पूर्ण रूपमा स्वतन्त्र हुन्छ । जुन जीवन प्रेम र आनन्दले भरिएको हुन्छ । जो मान्छे कुनै वर्ग, सिद्धान्त, रंग, धर्म, राष्ट्रवादमा बाँधिन्न । न त पुँजीवादी हुन्छ न कम्युनिस्ट नै । जसलाई कुनै बाकसमा राख्न सकिन्न । त्यो पूर्ण मानिस हो ।

    आनन्द शीलाको ‘डन्ट किल हिम’, अनुपम पोखरेलको ‘ओशोको जीवन कथा’, ओशोका विभिन्न पुस्तक र वेबसाइटको सहयोगमा

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images