ठाकुर पक्षीय प्रदेश २का  प्रदेश सांसदहरू नेतृत्वबाट रुष्ट
  • SNN Nepal

  • काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षीय प्रदेश २का  प्रदेश सांसदहरू नेतृत्वबाट रुष्ट बनेका छन्।

    ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेपछि आफूहरू अलपत्र परेको भन्दै उनीहरू रुष्ट बनेका हुन्।
    ओलीको पक्ष र विपक्षका कारण विवाद सुरू भएयता महन्थ पक्षीय कतिपय सांसदहरू अर्का अध्यक्ष उपेन्द्र यादवतिर लागेका छन्।

    महन्थ समूहबाट प्रदेश सरकारमा मन्त्री बनेका नवलकिशोर साह र रामनरेश राय पछिल्लो समय उपेन्द्र समूहतिर खुलेका छन्। यसैगरी रानीशर्मा तिवारी, डा.रीना यादवलगायतका महन्थ पक्षकै प्रदेश सांसदहरू उपेन्द्र समूहमा गइसकेका छन्।

    पछिल्लो समय महन्थ पक्षका प्रदेश सांसद विक्की यादवले सामाजिक सञ्जाल फेसबुकमै आफ्नो असन्तुष्टि पोखेका छन्।

    प्रदेश सांसद यादवले जसपाअन्तर्गतको राजपा खेमाका नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै आफूहरू अलपत्र अवस्थामा रहेको बताएका छन्।

    ‘जसपाअन्तर्गतको राजपा खेमाका नेतृत्वको असक्षमताका कारण पार्टी गतिहीन र दिशाविहीन संगठन बनाउने अथवा जनताका बीच जाने स्पष्ट दृष्टिकोण वा ठोस योजना नभएका कारण प्रदेशसभा सदस्यलगायत नेता कार्यकर्ता अलपत्र अवस्थामा,’ यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

    Capture..bikky yadav.PNG

    प्रदेश २ मा जसपाका ५५ सांसदमध्ये ३० जना पूर्वसमाजवादी र २५ जना पूर्वराजपाका छन्। जसमध्ये पूर्वराजपाका ६ जना उपेन्द्र पक्षमा लागेका छन्।

    दलको आधिकारिकता विवाद महन्थ पक्षले नपाउँदा पद नै धरापमा पर्नसक्ने त्रास त्यहाँका सांसदहरूमा देखिएको छ।

    महन्थ पक्षीय एक सांसदले आधिकारिकता पाउने पक्षमा आफूहरू रहने बताए।

    ‘निर्वाचन आयोगले उपेन्द्र पक्षलाई मान्यता दिँदा अर्को पक्षमा लाग्नेहरूको पद गुम्ने निश्चित देखिन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा ती सांसदले भने,‘त्यसैले उपेन्द्रजीहरूले आधिकारिकता पाउँदा हामी उतै जाने सम्भावना बढी छ।’

     

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images