वर्षासँगै गएको पहिरोले मध्यपहाडी लोकमार्ग तीन दिनदेखि अवरुद्ध
  • SNN Nepal

  • काठमाडौँ। लगातारको वर्षासँगै गएको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ ।

    लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिरोले सडक अवरुद्ध बनेको हो ।

    चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको उनले बताए । सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए ।

    सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रबाट अन्यत्र जाने सवारी साधन पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन पराधीमा अलपत्र बनेका छन् ।

    उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

    सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको अनियाघाट र ज्यामिरेलगायतका ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको हो । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images