मकवानपुरमा किसानलाई किसान क्रेडिट कार्ड वितरण
  • SNN Nepal

  • मकवानपुर । मकवानपुरमा पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले किसानहरूलाई क्रेडिट कार्ड वितरण गरेको छ । साना तथा सीमान्तकृत कृषकमाझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले गाउँपालिकाले किसान कार्ड वितरण गरेको हो ।

    व्यावसायिक तथा जीविकोपार्जनका निम्ति कृषि पेशा अगाल्दै आएका गाउँपालिकाभित्रका किसानलाई किसान क्रेडिट कार्ड उपलब्ध गराइएको हो । गाउँपालिकाले ३ नम्बर वडाका २५ जना कृषकलाई क्रेडिट कार्ड वितरण गर्दै कार्यक्रमको सुरुवात गरेको छ । मकवानपुरका १० वटा स्थानीय तहमध्ये मकवानपुरगढीले मात्रै किसान क्रेडिट कार्डको सुरुवात गरेको छ ।

    गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले जिल्लामै पहिलो पटक किसान क्रेडिट कार्डको सुरुवात गरिएको जानकारी दिए । उनका अनुसार कार्ड प्राप्त गरेका किसानले न्यूनतम ब्याजदरमा २ लाख रुपैयाँ ५ वर्षसम्मका लागि ऋण पाउने छन् । ‘किसानले गाई, भैंसी खरिद गर्नुपरेमा, घाँसको बिउ खरिद गर्दा, खेतबारीमा बाली लगाउँदा उक्त रकम प्रयोग गर्न सक्छन् ।,’ अध्यक्ष हुमागाईंले भने । उनले कृषि क्षेत्रको विकासका लागि किसानमा ऋण सुविधा पुर्‍याइएको बताएका छन् ।

    किसानलाई क्रेडिट कार्ड दिन मकवानपुरगढी गाउँपालिका, नेपाल बंगलादेश बैंक लिमिटेड, आर एण्ड डी ईनोभेटिभ सोलुशन प्रालि र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौता भएको थियो । किसानहरूलाई बिनाधितो न्यूनतम ब्याजदरमा ५ वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन, कृषि व्यवसाय गर्न २ लाख रुपैयाँ सहकारीको व्यवस्थापन र समूह जमानतमा वितरण हुने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

    गाउँपालिकाले ८ वडाका कुल ८ सय किसानलाई क्रेडिट कार्ड वितरण गर्ने लक्ष्य बनाएको छ । जसअनुसार प्रत्येक वडामा १ सय जना किसानका दरले ८ वटा वडाका ८ सय जनाले क्रेडिट कार्ड पाउने छन् । गाउँपालिकालाई कृषि तथा पशुपालन क्षेत्रमा थप व्यावसायिक बनाउन क्रेडिट कार्डको योजना ल्याइएको गाउँपालिकाले जनाएको छ ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images