पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
  • SNN Nepal

  • सुर्खेत । मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

    अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए ।

    “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ”, उनले भने, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।”

    पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए ।

    अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

    “पहिरो पन्छाउने काम भइरहेको छ,” उनले भने, “आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।”

    त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएको छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताए ।

    “उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ”, उनले भने ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images