जोमसोममा कारागार भवन भत्किएपछि सुरक्षा चुनौती बढ्यो
  • SNN Nepal

  • काठमाडौं । जोमसोमस्थित जिल्ला कारागार मुस्ताङको भवनको पर्खाल बुधबार भत्किएको छ ।

    अत्यधिक बर्षातका कारण जीर्ण अवस्थामा रहेका कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी र सुरक्षाकर्मीको व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको कारागारका निमित्त प्रमुख भुवन केसीले जानकारी दिए । कारागार भवनको तीनवटा कोठाको पर्खाल भत्किएपछि सुरक्षा चुनौती बढेको उहाँको भनाइ छ ।

    ‘सुरक्षाकर्मीलाई वैकल्पिक दुईकोठे जस्ताले छाएको भवनमा व्यवस्थापन गरिएको छ’, उनले भने, ‘कैदीबन्दीलाई कहाँ लगेर राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ जीर्ण अवस्थाको भवनका अन्य कोठामा पनि क्षति पुगेको छ ।

    ढुङ्गा र माटोले बनेको एकतले नौ कोठे भवनको सख्खर माटोले छाएको छानो अत्यधिक बर्सातले चुहिएर पर्खाल चर्किएको थियो । दुई कोठामा कैदीबन्दी, छवटा कोठामा सुरक्षाकर्मी र एक कोठामा कारागार प्रमुखको निवास थियो । भवनमा प्रयोग भएका काठ मक्किएको, चुहिने र जीर्ण भएकाले अप्रिय घटनाको जोखिम छ ।

    दशजना अटाउने क्षमता रहेको सो कारागारमा हाल ११ जना कैदीबन्दी छन् । यसअघि बढीमा २६ जनासम्म कैदी-बन्दी राखिएको थियो । २० जना सुरक्षाकर्मीको दरबन्दीमध्ये १० र सात जना प्रशासनिक कर्मचारीको दरबन्दी भएकोमा चार जना कार्यरत छन् ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images