गृहयुद्धको बाटोमा अफगानिस्तान
  • SNN Nepal

  • काठमाडौँ– अफगान सहर कान्दहारको एक सिया मस्जिदमा शुक्रबार भएको आक्रमणमा ४० जनाभन्दा बढीको ज्यान गयो । एक दर्जनभन्दा बढी घाइते भए । बिबि फतिमा मस्जिदबाट लिइएको एक तस्बिरमा धेरै लासहरू भुइँमा छरपस्ट भएको तथा मस्जिदमा उपस्थित इस्लाम धर्मावलम्बी धेरै मानिसहरूले सहयोगका लागि याचना गरिरहेको दृश्य प्रष्ट देख्न सकिन्थ्यो ।आत्मघाती आक्रमण हुँदा मस्जिदमा धर्मावलम्बीहरूको घुइँचो लागेको थियो । आक्रमणमा इस्लामिक स्टेट ग्रुप (आईएसआई) संलग्नता रहेको जनाइएको छ । समाचारहरूमा उल्लेख भएअनुसार मस्जिदभित्र दुई व्यक्ति प्रवेश गरेर आफ्नो जीवन त्याग गर्नुअघि सुरक्षाकर्मीको हत्या गरेका थिए ।

    अब्दुल्लाह नामका एक व्यक्तिका अनुसार आक्रमणकारीहरूले पहिले पाठ गरे अनि आक्रमण गरे । उनले जनाए अनुसार तीन वा चार ठाउँमा एकै पटक विस्फोट भएको थियो ।

    विस्फोटमा परेका मानिसहरू भुइँमा ढलेका थिए । यीमध्येका धेरैको ज्यान गयो । यी नै मध्येका केही मानिसहरू सहयोगको याचना गरिरहेका थिए ।

    शुक्रबार मस्जिदमा धेरै भिड हुने गर्छ । आक्रमणपछि कम्तीमा १५ वटा एम्बुलेन्स सक्रिय भएका थिए । त्यसै समयमा तालिवानको विशेष टास्क फोर्सले सो स्थानलाई नियन्त्रणमा लिँदै सबै रक्तदान गर्न अनुरोध गरेको थियो ।

    इस्लामिक स्टेटको समन्वयमा रहेको ‘आईएसके’ को प्रान्तीय शाखाले यस अवधिमा धेरै स्थानमा आक्रमण गरिसकेको छ । साथै यसले लगातार तालिवान राज्यको विरोध गरेको छ । पछिल्लो आक्रमण भएको कान्दहार अफगानिस्तानको दोस्रो ठूलो शहर हो ।

    गत शुक्रबार पनि अर्को सिया मस्जिद कुन्दुजमा आक्रमण भएको थियो । सो आक्रमणमा ५० जनाको ज्यान गएको थियो । ‘आइएसके’ ले त्यो आक्रमणको जिम्मेवारी लिएको छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको त्यो सबैभन्दा ठूलो आक्रमण थियो ।

    आइएसके सुन्नी मुस्लिम सङ्गठन हो । यो मुस्लिम लडाकु सङ्गठनमध्ये सबैभन्दा कठोर प्रकृतिको मानिन्छ । यसले अफगानिस्तानका सुरक्षा निकाय, राजनीतिज्ञ र मन्त्रीहरू तथा सिया मुस्लिमसहित त्यहाँका सिख लगायत अल्पसंख्ययकलाई लक्षित गर्दै आक्रमण गर्ने गरेको छ । पत्रकार र अधिकारकर्मी पनि यो समूहको लक्षित व्यक्ति हुन् ।

    सिया मुस्लिमहरूमाथि सुन्नीहरूको यो आक्रमण पहिलो होइन । अफगानिस्तानमा धेरै वर्ष अघिदेखि बारम्बार सियामाथि सुन्नीको आक्रमण हुँदै आएको छ ।

    अफगानिस्तानको कुल जनसंख्याको १० प्रतिशत सिया मुस्लिम छन् । यिनीहरू धेरैजो हजारा सम्प्रदायका हुन् । यो देशको तेस्रो ठूलो संख्याका आदिवासी समूह हो । गत महिना एमनेस्टी इन्टरनेसनलले १३ जना हजारालाई सुन्नीले मारेको आरोप लगाएको थियो ।

    जुन महिनाको तेस्रो सातामा पनि अफगानिस्तानमा एउटा भयङ्कर ठूलो हमला भएको थियो । हमलामा ६० जना अफगानीको साथमा १३ जना अमेरिकी सैनिक मारिएको जनाइएको थियो ।

    उक्त आत्मघाती कदम अमेरिकाले २० वर्षपछि आफ्ना सेना फिर्ता गर्ने अन्तिम डेट लाइनको केही दिनअघि भएको थियो । उक्त घटनाको पनि आइएसकेले जिम्मेवारी लिएको थियो ।

    अहिले अफगानिस्तानमा लगातार आक्रमण गरिरहेको आईएसके आईएसको खोसारान अवस्थित प्रान्तीय स्वरूप हो । सन् २०१५ मा इराक र सिरियामा आईएसको शक्ति व्यापक भएको समयमा आईएसकेको प्रभाव पनि त्यत्तिकै बढेको थियो ।

    अहिले अफगानिस्तान र पाकिस्तानको भूभाग भएको स्थान नै खुसारान हो । यसकारण आइएसकेले पाकिस्तानमा आईएसको भिन्न शाखा या आफ्नै भिन्न स्वरूपको सङ्गठनको निर्माण नभएसम्मका लागि त्यहाँको भूभाग पनि हेर्ने गरेको थियो ।

    यसमा ३ हजार जना लडाकु रहेको अनुमान छ । तर, यो संख्याले अमेरिकी सेनाको विरुद्धमात्र होइन, तालिवान र अफगानिस्तानको सुरक्षा निकायसँग वर्षौंदेखि भिड्दै आएको छ ।

    पछिल्ला केही वर्षहरूमा आईएसकेले संवेदनशील क्षेत्रमा समेत आक्रमण गरेको आरोप लागेको छ । विद्यालय र अस्पतालको मेटरनिटी वार्ड समेत यिनीहरूको निशानामा परे । नर्स र गर्भवती महिलामाथि पनि आक्रमण गरेको आरोप यो समूहमाथि लागेको छ ।

    यो समूहको सम्बन्ध लागु औषध कारोबारीसँग रहेको ठानिएको । अफगानिस्तान र पाकिस्तानमा पनि यिनीहरूको संलग्नतामा लागु औषध ओसारपसार हुन्छ भन्ने आरोप लाग्ने गरेको छ ।

    आईएसकेले अफगानिस्तानका नान्गहर, काबुल, कुनार, जोज्वाजान, पाक्टिया, कुन्डुज र हेराटमा भएको आक्रमणको जिम्मा लिएको छ ।

    हकानीको माध्यमबाट यिनीहरूको तालिवानसँग सम्पर्क भएको दाबी धेरैको छ । अलकायदामा समेत संलग्नता रहेको हकानीको अहिले अफगान राजनीतिमा धेरै प्रभावशाली उपस्थिति छ । अफगानिस्तानको सुरक्षा अवस्थाबारे अध्ययन गर्नेहरूले हकानी र आइएसकेको बीचमा पनि गहिरो सम्बन्ध रहेको दाबी गरेका छन् ।

    काबुलमा कुनै समय सुरक्षा निकायले हकानीको टाउकाको मूल्य ५० लाख अमेरिकी डलर समेत तोकेको थियो ।

    एसिया प्यासिफिक फाउन्डेसनका डा. साजन गोहेले विगत एक वर्षदेखि अफगानिस्तानमा मिलिटरी नेटवर्कबारे अध्ययन गरिरहेका छन् । उनले सन् २०१९ देखि सन् २०२१ को बीचमा भएको प्रमुख आक्रमणमा तालिवानको हकानी समूह, आइएसके र पाकिस्तानका केही आतङ्कवादी सङ्गठनको मिलेमतोमा भएको दाबी गरेका छन् ।

    अगस्टमा १५ मा तालिवानले सत्ता कब्जा गरेपछि पुलइ चर्क जेलबाट ठूलो मात्रामा कैदीहरू छुटाइएका थिए । यसरी छुटाइनेमा एसआई र अलकायदाको लडाकु पनि थिए ।

    अहिले आइएसको उदयले तालिवान सत्तालाई कतिपय स्थानमा समस्या थप्नेछ भने पश्चिमा देशसँगको लडाइमा तालिवानसँग मिल्न पनि सक्नेछ ।

    त्यसो त थुप्रै सुरक्षा विज्ञहरूले २६ अगस्टको घटनापछि आईएसकेको शक्तिलाई कम आँक्न नहुने कुरामा जोड दिएका थिए ।

    यसअघि नै जानकारहरूले इराक र सिरियामा इस्लामिक स्टेटको बलियो उपस्थिति रहेपछि अफगानिस्तान र पाकिस्तानका केही भूभागमा यसको उत्तिकै प्रभाव रहने बताउँदै आएका थिए ।

    सन् २०१५ मा स्थापित आइएसकेले छोटो समयको अन्तरमा नै अफगानिस्तान धेरै उत्तरी गाउँमा कब्जा जमाइसकेका थियो ।

    अफगानिस्तान र पाकिस्तानकै अल्पसंख्यक समूहमाथि आईएसकेले लक्षित आक्रमण हुन थालेको तीन वर्ष भएको छ । इन्स्टिच्युट फर इकोनोमी एन्ड पिस ग्लोबल टेरोरिजम इन्डेक्सका अनुसार २०१८ मा यो संसारको चौथो ठूलो आतङ्कवादी सङ्गठन बनिसकेको थियो ।

    सन् २०१९ को अन्त्यदेखि सन् २०२० को सुरुवातसम्ममा आइएसकेका १४ सय लडाकुले अमेरिकी नेतृत्वको सैन्य बलका सामु आत्मसमर्पण गरेकाले यो समूह कमजोर भएको आकलन गरिएको थियो ।

    आईएसकेको स्थापनामा नै पाकिस्तानी तालिवान, अफगान तालिवानका अतिरिक्त केही उज्वेकहरूको साथ तथा सक्रिय भूमिका रहेको मानिएको छ ।

    अफगानिस्तानको उत्तरपूर्वी सिमाना तथा पूर्व अलकायदाको पकड क्षेत्र तोरा जोरा नजिकै नान्गरहार प्रान्त यो समूहको पकडको क्षेत्र मानिन्छ । यसै क्षेत्रमा यिनीहरूले सुरुवाती कब्जा जमाएका थिए ।

    यसको उद्देश्य नै केन्द्रीय तथा दक्षिण एसियामा इस्लामिक स्टेटको गतिविधिलाई तीव्र पार्ने हो । क्षेत्रीय रूपमा रहेको मुस्लिम आतङ्कवादी समूहलाई एकत्रित गर्दै ठूलो समूह बनाउँदै जाने र शक्ति जम्मा गर्ने यसको रणनीति रहेको छ ।

    संसारको भूराजनीतिलाई नियालिरहेका धेरै समीक्षकहरूको मतमा यो समूहले बिस्तारै केही समयमा आफूलाई ठूलो शक्तिको रूपमा स्थापित गर्नेछ । शायद अब तालिवान सरकारको लागि यो सबैभन्दा टाउको दुखाइको विषय हुनेछ ।

    एउटा अतिवादीको विरुद्धको अर्को अतिवादी शक्तिको उदयले अफगानिस्तानलाई अझ लामो समय युद्धको भुमरीमा धकेल्ने निश्चित झैँ देखिएको छ ।

    सन् ७० को दशकको अन्त्यबाट युद्धको चपेटामा परेको अफगानिस्तान अब लामो समय यस चपेटाबाट बाहिर निस्कने सम्भावना कमै देखिन्छ ।

    –एजेन्सीहरूको सहयोगमा

     

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images