वालुवा राखेर बनाएको कालोपत्रे सडक भत्कियो
  • डम्मर दत्त भट्ट

  • कञ्चनपुर ।महाकाली नदीले भीमदत्त नगरपालिका १२ ऐरी ओदाली स्थित तीन सय मिटर कालोपत्रे सडक भत्काएको छ । पुल निर्माण कम्पनी कुमार सीएफसीजेभीले तटबन्ध बिनै सडक निर्माण गर्दा नदीले सडक भत्काएको हो ।
    मनसुन सकिएलगत्तै अनपेक्षित रुपमा तीनदिन देखि लगातार बर्षा आउदाँ महाकाली नदीमा आएको वाढीले तटबन्ध बिनै निर्माण गरेको पक्की सडक भत्काएर गाँउ पस्ने खतरा देखिएको छ । उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीय, विभिन्न दल निकट संघ संगठनले अस्थायी तटबन्ध निर्माणमा जुटेका छन ।
    महाकाली पुल निर्माण कम्पनीको लार्पबाहीका कारण जनताले विपद्को सामना गर्नुपर्ने बाध्यता सृजना भएको छ । तटिय क्षेत्रका स्थानीयले पहुँच मार्गको दायाँबाँया सुरक्षित योजना नल्याएको, छेउबाटै मापदण्ड विपरित उत्ख्नन गरेको र पक्की सडकमा माटो राख्नुपर्ने ठाँउमा वालुवा ग्राभिलिङ्ग राखेका कारण पक्की सडक भत्किएको बताएका छन ।

    स्थानीय छत्र देउवा ९सन्जु०ले तटबन्ध बिनै सडक निर्माण गरेर ठेकेदारले सस्तो लोकप्रियता खोजेका कारण यस्तो नियती भोक्नु परेको बताए । बर्षनी वाढि आउने थाहा हुँदाहुँदै पुल नै साँघुरो बनाएर अनियन्त्रित महाकाली दोहनका कारण समस्या निम्तिएको उनले बताए । ‘ठेकेदारले चार लेन सडक निर्माणमा माटो राख्नुपर्ने भएपनि वालुवा ग्राभिलिङ्ग राखेर बनाएको देखियो, ‘उनले भने, ‘त्यही भएर पक्की सडक भत्किएको हो ।

    ठेकेदारले नदी छेउमै मापदण्ड विपरित ग्राभिलिङ्ग संकलन गर्दा समेत पुल निर्माण स्थलको उत्तरमा तिव्र कटानी भईरहेको बताए ।
    स्थानीय कालु सुनारले यस अघि जनताको तटबन्ध कार्यालयबाट निर्माण गरिएको तारजाली सहितको तटबन्ध ठेकेदारले उखेलेर लगेपछि माथि वालुवा थुपारेर सडक कालोपत्रे गरेकाले भत्किएको बताए । स्थानीय एव समाजिक अभियन्ता अमिर तिरुवाले वालुवा हालेर निर्माण भएका सडक स्वत कच्ची हुने बताउदै, गुणस्तहिन काम भएको बताए । ‘बाहिर हेर्दा राम्रो तर, भित्र खाली वालुवा राखेर सडक बनाएको रहेछ, ‘उनले भने, ‘जब सडक भत्कियो, तब थाहा भयो ।’ अन्र्तराष्ट्रिय स्तरको सडक निर्माण गर्दा अपनाउनुपर्ने मापदण्ड बिनै सडक निर्माण भएकाले भत्किएको उनको भनाई छ ।
    स्थानीय एव शिक्षक राजेन्द्र भट्टले ठेकेदार कम्पनीको लार्पबाहीका कारण तटिय क्षेत्रका जनताले वाढिको समस्या खेप्नु परेको बताए । ‘भुजेला खोलाको पुलदेखि दक्षिणमा स्पर छैनन, ‘उनले भने, ‘पुलमाथि पनि स्पर हुनुपर्ने हो, त्यो राखिएन, सिङ्गो महाकाली खोलामा उल्टियो ।’

    भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष लाल बहादुर शाहीले महाकाली पुल निर्माण गर्दा डिजायन नै गलत भएको टिप्पणी गर्छन । ‘हामीले डिजायन परिर्वतन र पुलको लम्बाई बृद्धिको माग राख्दा ईन्जिनियर सावहरुले हेप्छन, ‘उनले भने, ‘पुल पुरै निर्माण नहुँदा पानी थुनिएर गाँउ पस्छ, अनि हामीले के भन्ने ।’ ठेकेदारले दायाबाँया सडक संरक्षणका लागि तटबन्ध निर्माण नगर्दा समेत पक्की सडक भत्किएको उनले बताए ।

    भुजेलाका सुरज लुहारले सरकारी निकायबाट दिगो बाँध निर्माण गर्न कन्जुस्याई भईरहेको बताए । ‘यहाँ आज मात्रै वाढि आएको होर बषौँ बर्षदेखि आईरहेकै छ, ‘उनले भने, ‘वाढि आउँछ, हामी मारमा पछौँ, तर सरकार आउँछन जाँन्छन, एनजिओहरुपनि डाटा लिएर जाँछन, डलर पचाउँछन, हाम्रा दिन फेरी उस्तै छन ।’

    महाकाली पुल आयोजनाले समेत ठेकेदार कम्पनीले जिद्दीकै कारण सडक भत्किएको जनाएको छ । महाकाली पुल आयोजनाका सव–ईन्जिनियर दुर्गादत्त अवस्थीले तटबन्ध निर्माण नगर्दा सडक भत्किएको बताए । गाईडबण्ड निर्माणका लागि एक लाख ८१ हजार ठुलो परिमाणमा ढुङ्गा चाहिने भएपनि नपाएका कारण विपद्को सामना गर्नुपरेको बताए । ‘२० देखि ४० प्रतिशत ३० किलोका ढुङ्गा, ७० प्रतिशत २ सय ५७ किलोका ढुङ्गा चाहिन्छन, ‘उनले भने, ‘अहिलेसम्म ठुला ढुङ्गा पाईएका छैनन, तटबन्ध बिनै सडक निर्माण गरियो ।’ उनका अनुसार आईसल्याण्ड, सडक सहित झण्डै ५ करोडको क्षति भएको छ । पुल निर्माण कम्पनी कुमार सीएफसीजेभीका ईन्जिनियर किशोर पाण्डेले पनि ठुला परिमाणका ढुङ्गा नपाएकाले सडक भत्किएको बताए । ‘हामीले ठुला ढुङ्गा पाएका छैनौँ, ‘उनले भने, ‘गुणस्तरमा कुनै कमि छैन ।

    वालुवा राखेर सडक निर्माण गर्दा भत्किएको भन्ने विषयमा उनले फेसबुके हावा कुराको पछि नलाग्न आग्रह गर्दै नदीकै स्रोत साधन प्रयोग गरेर सडक निर्माण गरिएको बताए । ‘गुणस्तरमा कमि भएको भए ५ लाख भन्दा बढि क्यूसेक पानी आउँदा समेत सडकले धानेको थियो, ‘उनले भने, ‘कम्पनीको पर्मोमेन्सका लागि समेत तटबन्ध बिनै सडक निर्माण गरेका छौँ ।’ महाकाली नदीको पानीको सतह समेत घटिरहेको छ । मंगलबार शताब्दीकै उच्च रहेको पानीको सतह बुधबार घटेको हो । मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक थियो, भने बुधबार घटेर २ लाख ३९ हजार क्यूसेक रहेको छ ।

    महाकाली नदीका कारण भीमदत्त र दोधाराचाँदनीका झण्डै ८ सय विस्थापित भएका थिए । उनीहरुको अहिलेपनि सामुदायिक विद्यालयमै बास छ । जिल्लाभरीका किसान धान भिजेर चिन्तामा छन । ठाँउ ठाँउमा सडक अवरोध भएको छ । भने लालझाडी क्षेत्रका सयौँ विगाह जमिन धानखेती भिजेर नष्ट भएको स्थानीय रामचन्द्र रानाले बताए । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले महाकाली नदीबाट कटानी भएको स्थानमा तारजाली भरान भईरहेको बताए ।

    No description available.

    No description available.

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images