देउवा र प्रचण्डबीच छलफल, ओलीको रणनीतिबारे विश्लेषण
  • SNN Nepal

  • काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद भएको छ ।

    बूढानीलकण्ठ स्रोतका अनुसार सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको थियो ।

    सोमबार काँग्रेस पदाधिकारी बैठकपछि देउवा–प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम भए पनि काँग्रेस बैठक स्थगित भएपछि अपरान्ह टेलिफोनबाटै संवाद भएको हो ।

    टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो । साथै, लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक संकटका विषयमा पनि छलफल केन्द्रित भएको स्रोतले जनाएको छ ।

    स्रोतले प्रचण्डको भनाइ उद्धृत गर्दै भन्यो, ‘अविश्वासको प्रस्ताव दर्ताका लागि हामीले जोड दिँदा पनि तपाईंले अविश्वास र आशंका मात्र गर्नुभयो, अब केपी ओलीजी आफैं विश्वासको मत दिनु तम्सिनुभयो । अब हाम्रो रणनीति के हुन्छ रु’

    स्रोतका अनुसार जवाफमा देउवाले मंगलबार (आज) दिउँसो २ बजेपछि बस्ने पार्टी पदाधिकारी बैठकपछि थप छलफलमा गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

    प्रचण्डले निर्धक्कका साथ ओलीको विकल्पका रुपमा खडा हुन देउवालाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने कुरा सँगसँगै आगामी रणनीति तय गर्न देउवालाई प्रचण्डले आग्रह गरेको स्रोतले बतायो ।

    यसैबीच आजै पार्टी पदाधिकारी तथा संसदीय फाँटका पदाधिकारी र शीर्षस्थ नेतासँग देउवाले छलफल गर्दैछन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा आजको पदाधिकारी बैठकमा छलफल हुने बताए ।

    पदाधिकारी बैठकपछि देउवाले ओली इत्तर कित्तामा देखिएका राजनीतिक दलका नेताहरुसँग संवाद गर्ने बुझिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पनि देउवासँग निरन्तर संवादमै रहेको पाइएको छ ।

    जसपामा प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा दुई मत देखिँदा यादव नयाँ सरकार निर्माणका लागि अग्रसर देखिएका छन् । यादवले अविश्वासको प्रस्तावका लागि देउवा अग्रसर भए तत्कालै १९ जना सांसद हस्ताक्षर गर्न तयार रहेको जनाकारी दिएको बुझिएको छ ।

    देउवा र प्रचण्डले एमाले नेता माधव नेपालसँग २७ गतेअघि नै गम्भीर वार्ता गर्न पनि अध्यक्ष यादवले सुझाएको स्रोतको भनाइ छ ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images