एक भारतीय परिवार, जसले नेपाली आमाको उद्धार गर्‍यो
  • SNN Nepal

  • काठमाडौँ । अहिलेको आधुनिक समाजमा कतिपयले आफन्तलाई चिनेका हुँदैनन् । कतिपयले त जन्म दिने आमा बुवालाई समेत वृद्धाश्रममा छाडेर छुट्टै बसेका हुन्छन् । घरमै पनि आमा–बुवाबाट अलग बसेका हुन्छन् । तर, यही आधुनिक समाजमा अर्काका आमाबुवालाई आफ्नै घरमा राखेर सेवा गरेका उदाहरण पनि भेटिन्छन् ।

    भर्खरै यस्तै एउटा घटना बाहिर आएको छ । घरमा छोराबुहारीबाट प्रताडित जनकपुरकी ५५ वर्षीया तारादेवी यादव घरबाट निस्केर हिँड्दै भारतको मध्यप्रदेश पुगेकी रहिछन् । उनी मध्यप्रदेश पुग्दा कोरोनाको पहिलो लहर सुरु भयो । भारतभर लकडाउन सुरु भयो ।

    मान्छेहरू एकअर्काको नजिक जान चाहँदैनथे । आफन्तबाट समेत टाढा–टाढा बस्न थालेका थिए । कोसौँ हिँडेर मानिसहरू आफ्नो थातथलो पुगिरहेका थिए । त्यही समय नेपालबाट करिब दुई हजार किलोमिटर हिँडेर भारत मध्यप्रदेश सिमरिया जिल्लाको विजुपुरी गाउँ पुगेकी ता​रादेवीलाई सोही गाउँका फूलचन्द वर्मन परिवारले आश्रय दिएर आफ्नो घरमा डेढ वर्षसम्म राखे ।

    फूलचन्दले तारादेवीलाई घरमा मात्र राखेनन् उनको परिवारसँग मिलाउने प्रयास समेत गरिरहेका थिए । पहिले त उनले स्थानीय पुलिस थानामा जानकारी गराए । तर तारादेवीले मैथिली भाषाबाहेक कुनै भाषा बोल्न नजान्ने र अरू कुनै प्रमाण दिन नसकेका कारण फूलचन्दको घरमा डेढ वर्षसम्म पाहुना भएर बसेकी थिइन् ।

    त्यहाँका स्थानीय सङ्घसंस्थाको सहयोगमा उनी नेपालकी हुन् भन्ने सबै प्रमाण पु¥याएपछि नेपालबाट समाजिक अभियन्ता सरोज राय तारादेवीलाई लिन फूलचन्दकै घरमा पुगे । अनि त्यहाँ बिछोडको रूवाबासी सुरु भएको थियो । तारादेवीले पनि त्यो ठाउँ छोडेर हिँड्नुपर्दा बिछोडको आँसु झारिन् ।

    तारादेवी फूलचन्द र इन्द्रकली वर्मनको परिवारमा एउटा परिवारको सदस्य जस्तो भएर बसेकी थिइन् । तारादवी र फूलचन्दको मात्र होइन पूरै बिजुपुरी गाउँको ‘मातारानी’ भएकी थिइन् । तारादेवीलाई गाउँभरीले मातारानीको नामबाट सम्बोधन गर्थे । सबैले तारादेवीलाई सम्मानको नजरले हेर्थे ।

    तारादेवी बाहिरकी हुँ भन्ने लाग्दैन थियो । पूरै गाउँमा घुलमिल भइसकेकी थिइन् उनी । फूलचन्द र उनकी श्रीमती इन्द्रकली कतै बाहिर जाँदा आफ्ना छोराछोरी र घर तारादेवीलाई जिम्मा दिएर हिँड्थे । तारादेवीले फूलचन्दको मात्र होइन, पूरै गाउँको विश्वास जितेकी थिइन् । त्यही भएर उनी त्यहाँबाट बिदा हुन थालेपछि पूरै गाउँको आँखामा बिछोडका आँसु झरेका थिए ।

    तारादेवीलाई लिन भारतको मध्यप्रदेश उमरिया जिल्लाको विजुपुरी गाउँ पुगेका सरोज रायले रातोपाटीसँग भने, ‘तारादेवी आफ्नो गाउँ नेपाल फर्किन लागेको थाहा पाएपछि पूरै गाउँको मान्छे उहाँलाई बिदाइ गर्न आएका थिए । सबैको आँखामा बिदाइको आँसु थियो । सबैले रोएर ममतामय भावले बिदाइ गरेका थिए ।

    तारादेवी पनि त्यहाँबाट बिदा हुँदा रोइरहेकी थिइन् । यस्तो दृश्य विरलै हेर्न पाइन्छ सबै भावुक थिए, मेरो आँखामा पनि आँसु आयो ।’

    दुलहीलाई बिदाइ गर्दा जुन अवस्था हुन्छ, त्यही अवस्था थियो त्यो परिवारको र गाउँको । दुलहीलाई जस्तै उनलाई सिँगार पटार गरिएको थियो । रुँदै बिदाइ गर्नु तराई मधेस र भारतको बिहार, उत्तर प्रदेश, मध्य प्रदेशका गाउँको चलन नै हो । त्यस्तै अवस्था त्यहाँ देखिन्थ्यो ।

    आफन्तले आफन्तलाई नै पहिचान गर्न हिच्किचाउने ठाउँमा अर्को देशकी एक वृद्धालाई कुनै परिवारले डेढ वर्षदेखि आफ्नै आमा जस्तै स्याहार सुसार गरेर राख्नु जस्तो मानवता अरू कहीँ पाउन नसकिने सरोजले सुनाए ।

    तारादेवीलाई बिदाइ गर्दै फूलचन्दकी श्रीमती इन्द्रकलीले सरोज रायले खिचेको भिडियोमा भनेकी छिन्, ‘तारादेवी कहाँबाट यो गाउँमा आइपुग्नुभयो मलाई थाह छैन । उहाँ गाउँको स्कुलमा बस्नु हुन्थ्यो । जिउभरि घाउ नै घाउ थिए । पागल जस्तो त्यहाँ बसिरहनुहुन्थ्यो । गाउँका मान्छेले पनि पागल नै हो भनी वास्ता गर्दैनथे । स्कुल नजिक मेरो एउटा छाप्रोमा उहाँ बसिरहनुभएको थियो । उहाँलाई हेर्दै मलाई माया लाग्यो ।’

    ‘मलाई देख्नेवित्तिकै तारादेवीले खाना माग्नुभयो’, इन्द्रकलीले भनिन्, ‘मसँग खाना मागेपछि मैले त्यहीँ ल्याएर खान दिएको थिएँ । पछि घरमै लगेर खुवाएँ । उहाँ घरमा आउनुहुन्थ्यो खानुहुन्थ्यो र फेरि त्यहीँ स्कूलमा जानुहुन्थ्यो । मैले एक दिन अब तपाई कतै जानुपर्दैन, यही बस्नुस् सकेजति म तपाईलाई सहयोग गर्छु, खान बस्न दिन्छु भनें । अनि यहीँ बस्न थाल्नुभयो ।’

    तारादेवीलाई देख्नेवित्तिकै आफूलाई माया जागेको र पागल होइनन् जस्तो लाग्यो । त्यसपछि घरमा लगेर राखेँ । पछि घरकै सदस्यजस्तो बस्न थालेको घरको काममा सघाउन थालेको, छोराछोरीलाई खेलाउन थालेको, गाउँका अन्य मान्छेसँग पनि सम्पर्क बढाउन थालेपछि एक डेढ वर्ष कसरी बित्यो त्यो पत्तै नभएको इन्द्रकलीले सरोजलाई सुनाइन् ।

    यसरी पत्ता लागिन् तारादेवी

    तारादेवी फूलचन्द परिवारको सम्पर्कमा गएदेखि नै उनका परिवारको खोजबिन सुरु भएको थियो । तारादेवीको फोटो फेसबुकमा राखेर खोज्ने काम पनि भएको थियो । प्रहरीमा पनि उजुरी थियो । प्रहरीले पनि तारादेवीको परिवार खोज्ने काम गरिरहेको थियो ।

    तारादेवीले आफ्नो घर नेपालको जनकपुर भनेकी थिइन् । तर त्यहाँ कसैलाई पनि नेपाल र जनकपुर भन्ने थाहा भएन । त्यहाँ काम गर्ने समाजिक संस्था वान स्टप सेन्टरले नेपालको जनकपुर गुगलमा सर्च गरेपछि भारतको सीतामढी आसपास देखायो । अनि त्यो संस्थाले सीतामढीमा रहेको चाइल्ड लाइन भन्ने संस्थालाई खबर गरे । त्यसपछि सम्पूर्ण विवरण सो संस्थालाई पठाइयो ।

    बालबालिकाका क्षेत्रमा काम गर्ने मनिषले नेपालमा यस्तै उद्धारमा काम गर्ने सरोज रायलाई फोन गरे । मनिषले तारादेवीका फोटोलगायत अन्य विवरणहरु सरोजलाई पठाए ।

    सरोजले पनि तारादेवीका फोटाहरू फेसबुकमा राखेर खोजी सुरु गरेका थिए । फेसबुकमा त्यो फोटो राख्ने वित्तिकै एक जनाले सरोजलाई फोन गरेर यी महिला त जनकपुर थुमुनाकी हुन् भनेका थिए । त्यसको केही मिनेटपछि साउदीमा रहेका तारादेवीका छोराले पनि सरोजलाई फोन गरेर तारादेवी मेरी आमा हुन् भने ।

    सरोजले तारादेवीको गाउँ र परिवार फेला पारे । त्यसपछि सरोजले परिवारको विवरण, छोराहरुको फोटो सबै मनिषमार्फत वन स्टप सेन्टरलाई पठाए । त्यहाँ ती विवरण र फोटोहरु तारादेवीलाई हेर्न लगाए । तारादेवीले फोटो पहिचान गरिन् ।

    सबै कुरा पहिचान भएपछि तारादेवीलाई ल्याउनका लागि सरोज राय भारतको मध्यप्रदेश गए । पहिचान खुल्ने विवरणसहित उनी मध्यप्रदेश उमरियाका कलेक्टरलाई भेटे । कानुनी प्रक्रिया पूरा गरेर उनी त्यहाँबाट विजुपुरी गाउँ पुगे । करिब ७० किलोमिटरको यात्रापछि उनी त्यो गाउँमा पुगे जहाँ तारादेवी आफ्नो परिवारसँग भेट्ने आशामा बसेकी थिइन् ।

    सरोज विजुपुरी गाउँ पुगेपछि गाउँलेले स्वागत सत्कार गरे । वन स्टपका प्रतिनिधिहरु पनि त्यहाँ पुगेका थिए । स्थानीय पत्रकार तथा बुद्धिजीवीको रहोबरमा तारादेवीलाई बुझेर कलेक्टरको अफिसबाट सरकारी प्रक्रिया पूरा गरी सरोजले तारादेवीलाई लिएर नेपाल फर्के ।

    घरमा छैनन् खुसी

    सरोज राय भन्छन्, ‘नेपाल आउनेवित्तिकै पहिला आफ्नो र तारादेवीको पीसीआर टेस्ट गराएँ । कोभिड टेस्ट निगेटिभ आयो । अनि सीडीओसँग अनुमति लिएर तारादेवीलाई लिएर उहाँको घरमा गएँ ।’ तर घरमा फूलचन्दको जस्तो खुसियाली नरहेको सरोज बताउँछन् । तारादेवीका तीनजना छोरा छन् । तीनजनै छोरा विदेशमा छन् । दुई जना बुहारी घरमा बस्छन् । सरोज राय तारादेवीलाई लिएर उनको घरमा जाँदा बुहारीहरुमा खुशीको भाव त्यति देखिएन ।

    धेरै दिनपछि हराएकी सासू घरमा आउँदा सबै खुशी हुनुपर्ने हो हो तर त्यस्तै कुनै भाव नपाएको सरोजले बताए । ‘बुहारीहरु तारादवीको नजिक आउन पनि चाहेका थिएनन् । मैले बोलाएपछि मात्र आए’, सरोजले भने, ‘अनि मैले ती बुहारीहरुलाई सोधेँ यत्रो दिनदेखि हराउनु भएको आमालाई खोजेर ल्याइदिएको छु । अब राख्नु हुन्छ कि राख्नु हुन्न रु अनि उहाँहरुले यहाँ बस्नुहुन्छ भने राखिहाल्छु नि भनेर ठाडो जवाफ दिएकी थिइन् ।’

    तारादेवी जुन उत्साहका साथ परिवार भेट्न आएकी थिइन् त्यो उत्साह र खुशी उनको अनुहारमा देखिएन । बुहारीहरुको व्यवहार हेर्दा तारादेवीको मन फेरि फाटेको जस्तो अनुभव सरोजले गरेका थिए । यद्यपि गाउँलेहरुलाई बोलाएर तारादेवीलाई बुहारीको जिम्मा लगाएर सरोज हिँडेका थिए । तर के तारादेवी फूलचन्दको घरमा पाएको माया आफ्नो घरमा पाइरहेकी होलिन् त भन्ने प्रश्न सरोजको मन अझै खेलिरहेको छ ।

    बुहारीहरुका अनुसार तारादेवी पहिला पनि यसरी घर छाडेर निस्किन्थिन् । अनि केही दिनपछि आफै फर्केर आउँथिन् । त्यही भएर खोजबिन नगरेको बताउँछन् । घर छाडेर हिँडेपछि धेरै दिन हुँदा पनि आमा घर नफर्केपछि उनका कान्छो छोरा रामप्रमोद यादवले आफन्तहरुकहाँ खोजबिन गरे तर फेल नपरेपछि उनी खोज्न छाडेर वैदेशिक रोजगारीमा हिँडेका थिए ।

    आमा हराएको चिन्ता कुनै छोराबुहारीमा पनि थिएन । थियो भने विदेशमा कमाइ रहेका छोराले ज्यानको बाजी लगाएर आमा खोज्थे । प्रहरीमा उजुरी गर्थे । पत्रपत्रिकामा सूचना निकाल्थे । तर केही नगरी छोराबुहारीहरू आफ्नो काममा लागेका थिए । तिनै छोराबुहारीले वास्ता नगरेकी आमालाई पारि देशको एउटा परिवारले सुरक्षित राखेर घर पुर्याइदिने व्यवस्था मिलाइदियो ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images