अम्बाको पातदेखि ज्यानभन्दा जात्रा प्यारोसम्म !
  • SNN Nepal

  • (c)Narayan Maharjan 2021

    काठमाडौ । नेपालको जे भइरहेको छ, त्यो दर्दनाक अवस्था स्वभाविकजस्तै देखिन्छ । कोभिड १९ को संक्रमण आकाशिएको छ, अस्पतालहरू भरिएका छन् र देशका प्रधानमन्त्रीले अन्य देशसँग सहयोग मागिरहेका छन् ।

    अहिले नेपालमा दैनिक प्रति १ लाख व्यक्तिमध्ये झन्डै २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, दुई साताअघि भारतमा झन्डै यस्तै संख्या देखिएको थियो ।

    सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै इन्टर नेशनल फेडेरेशन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज ९आईएफआरसी० ले जनाएका अनुसार गत सप्ताहको अन्त्ययमा नेपालको कोभिड परीक्षणमध्ये ४४ प्रतिशत नतिजा पोजेटिभ आयो । आईएफआरसीले भविष्यमा थप संकट आउनसक्ने चेतावनी दिएको छ ।

    ‘मिनेटमै धेरै जीवन बर्बाद गरिरहेको कोभिडको यो पछिल्लो लहरलाई हामीले यदी नियन्त्रणमा लिन सकेनौँ भने अहिले भारतमा जे भइरहेको छ, त्यो नेपालको भविष्यको दर्दनाक प्रिभ्यू हुन्छ,’ नेपाल रेडक्रसका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले विज्ञप्तिमा भनेका छन् ।
    भाइरसको तीव्र फैलावटले नेपाल पनि भारतजस्तै विध्वंशकारी संकटको संघारमा पुगेको त होइन भन्ने भय सिर्जना गरेको छ । नेपालको स्वास्थ प्रणाली निकै कमजोर छ । छिमेकी भारतको दाँजोमा यहाँ प्रतिव्यक्ति डाक्टरको संख्या र खोप लगाइएको दर पनि कम छ । देशको उच्च पोजेटिभिटी दरले पर्याप्त संक्रमणलाई परीक्षणको दायरामा ल्याइएको छैन भन्ने संकेत गर्छ ।

    महोत्सव, राजनीतिक भेला र विवाहजस्ता आम मानिस सहभागी हुने कार्यक्रमले संक्रमण फैलन दियो । सर्वसाधारण ढुक्कले बसे भने सरकारले ढिलो कदम चाल्यो । ‘अवस्था दिनप्रतिदिन बिग्रँदै छ र भविष्यमा यो नियन्त्रणबाहिर जानसक्छ,’ सोमबार नेपाल सरकारको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर समीर अधिकारीले भने ।

    नेपालले सीमामा कडाइ गर्दै राजधानीसहितका अति प्रभावित क्षेत्रमा लकडाउन गरेपनि राजधानी हुँदै सगरमाथाको आधार शिविरसम्म भाइरस फैलिएकाले नियन्त्रणका लागि यतिमात्रै पर्याप्त नहुने केहीको चिन्ता छ ।

    खुल्ला सीमा :

    एक महिनाअघिमात्रै ३ करोड १० लाख जनसंख्याको यस हिमाली राष्ट्रमा दैनिक १ सयको हाराहारीमा संक्रमण देखिएको थियो, अहिले ९ हजारभन्दा धेरै छ । भारतको शक्तिशाली दोस्रो लहर नेपालभर आइरहेको पनि केहीको आरोप छ ।

    भारतसँग नेपालको लामो र खुला सीमाना छ, यहाँबाट आफ्नो देश छिर्नका लागि नेपालीहरुले पासपोर्ट वा परिचयपत्र देखाउनु पर्दैन । र, धेरै नेपालीहरुको भारतमा व्यापार छ, भारतीयहरुको अवस्था पनि यस्तै छ । अर्थात्, क्रस बोर्डर ट्राफिक उच्च छ । अधिकारीका अनुसार नेपालमा उपचार पाइने वा तेस्रो देशमा जाने आशाका साथ केही भारतीयहरु दोस्रो लहर छलेर नेपाल आएका थिए । ‘दुई देशबीचको आवागमनलाई पूर्णत रोक्न निकै कठिन छ,’ उनले भने ।

    पछिल्ला दिनमा नेपालले यी नियमहरु कडा गरेको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार अब नेपाली नागरिकहरु ३५ वटा सिमानाकामध्ये १३ वटा सीमाबाट मात्रै आउनसक्छन् ।

    तर, घर फर्किएकाहरुले बोर्डरमा परीक्षण गर्नुपर्ने बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विस्टले बताए । ‘नेगेटिभ परीक्षण भएकाहरु घर जानसक्छन् । तर, संक्रमित देखिएकाहरु क्वारेन्टाइन वा अस्पतालमा जानैपर्छ,’ उनले थपे ।

    नेपालका जनस्वास्थ वैज्ञानिक समिरमणी दिक्षित देशभित्र कोरोना फैलिसकेपछि ढिलागरी यी मापदण्डहरु आएको बताउँछन् ।

    ठूला संख्याको भीड

    अप्रिलको सुरुदेखि नेपालमा संकट गहिरिन थाल्यो, जतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को अप्रमाणित कोरोना भाइरसको औषधीबारे बोले । अम्बाको पानीले कुला गर्दा रोग निको हुनसक्ने ओलीले बताए । यसअघि दैनिक खानामा प्रयोग हुने मसलाका कारण नेपालीको प्रतिरोध प्रणाली बलियो रहेको हाँसोलाग्दो तर्क उनले गत वर्ष नै गरेका थिए ।

    अप्रिल अघि बढ्दै जाँदा नेपालीहरु देशभित्र र भारतीय सीमामा धार्मिक समारोहका लागि जम्मा भए । कुम्भ मेलाका लागि गंगामा स्नान गर्न नेपालीहरु गए, यो विश्वकै ठूलो धार्मिक समारोहमध्ये एक हो ।

    यस सूचीमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह पनि थिए, काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालका अनुसार नेपाल फर्किएपछि कोभिड १९ का कारण उनीहरु अस्पताल भर्ना भए ।

    यही समय काठमाडौंमा पान्हा चह्रे मनाउनका लागि हजारौं मानिसहरु भेला भए । सरकारी अधिकारीहरुले जात्रा नगर्न आदेश दिएपनि भक्तपुरमा बिस्केट जात्रा मनाउन मानिसहरु जम्मा भए, जात्राको समर्थन गर्ने एक प्लेकार्डमा लेखिएको थियो, ‘हाम्रो जात्रा हामीलाई हाम्रो जीवनभन्दा प्रिय छ ।’

    २४ अप्रिलमा जतिबेला २४ सयभन्दा धेरै संक्रमणमा घटना पुष्टि भए, त्यतिबेला सञ्चारमाध्यमहरु ओली वरपर थिए, जहाँ ओलीले २०१५ मा महाभूकम्पले ध्वस्त भएपछि फेरि निर्माण पूरा गरिएको धरहरा उद्घाटन गरे ।

    ५ दिनपछि, २९ अप्रिलमा संक्रमण दोब्बर भएर ४८ सयभन्दा धेरैमा पुष्टि भयो, तब सरकारले काठमाडौंमा दुई साता लामो लकडाउन घोषणा ग¥यो ।

    त्यसको भोलिपल्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही गर्न नसक्ने बतायो । ‘संक्रमितको संख्या स्वास्थ प्रणालीको नियन्त्रणबाहिर वृद्धि भइसकेको छ, उपचारका लागि अस्पतलामा बेड उपलब्ध गराउन गाह्रो भएको छ,’ ३० अप्रिलमा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नियन्त्रणका लागि सरकारले गरेको हरसम्भव प्रयासका बाबजुद नेपालमा भाइरस फैलिएको दाबी सोमबार ओलीले गरे । ‘हामी इन्टरकनेक्टेड र इन्टरलिंक्ड विश्वमा बाँचिरहेका छौँ, यस्ता महामारीले कसैलाई छाड्दैन र कोही सुरक्षित छैन,’ अंग्रेजी सम्बोधनमा ओलीले भने ।

    सरकारको कमजोरीले नेपालका जनता आक्रोशित बनेका छन् । विज्ञहरुका अनुसार दोस्रो लहर रोक्नु सम्भव नभएपनि सरकारले यसको नियन्त्रणका लागि धेरै गर्नसक्थ्यों ।

    राजनीतिक विश्लेषक सुरेन्द्र लबका अनुसार महोत्सव र जात्राहरु आयोजना हुन दिनु ठीक थिएन, वैवाहिक समारोह र यस्ता कार्यक्रमले फैलावटलाई थप विकराल बनाएको उनको तर्क छ ।

    ‘मेरो बुझाईमा सरकारले महामारीलाई राम्रोसँग व्यवस्थापन गरिरहेको छैन । सरकार आफ्नै राजनीतिमा धेरै केन्द्रीत छ,’ उनले भने ।

    जनस्वास्थ्यविद् सुरेश पन्थी पहिलो लहरको विध्वंशबाट जोगिएपछि नेपाल सन्तुष्ट बनेर बसेको बताउँछन् । ‘सीमामा संक्रमण बढेपछि नेपालले त्यहाँबाट फर्कने नागरिकका लागि क्वारेन्टाइन प्रणाली तयार गर्नुपर्ने थियो,’ उनले भने,‘हामीसँग पर्याप्त समय थियो, तर हामी तयार भएनौँ ।’

    संघर्षग्रस्त स्वास्थ्य प्रणाली

    नेपाल विश्वका अति गरिब देशहरुमध्ये एक हो र यहाँको स्वास्थ प्रणालीमा पनि त्यो झल्किएको छ । गत मेईको सरकारको कोभिड १९ रेस्पोन्स प्लानअनुसार देशमा झन्डै ३ करोड जनसंख्याका लागि १५ सय ९५ आईसीयू बेड र ४ सय ८० भेन्टिलेटर उपलब्ध छ ।

    यहाँ डाक्टरको पनि अभाव छ, विश्व बैंकको तथ्याङ्कअनुसार प्रति १ लाख जनताका लागि ० दशमलव ७ प्रतिशत चिकित्सकमात्रै उपलब्ध छन् । जबकी, छिमेकी भारतमा प्रति १ लाखका लागि ० दशमलव ९ जना चिकित्सक उपलब्ध छन् ।

    संकट व्यवस्थापनका लागि लामो बिदामा रहेका स्वास्थकर्मीलाई बोलाइएको छ, नेपाली सेनाले अवकाशप्राप्त स्वास्थकर्मीलाई तयारी अवस्थामा रहन बुधबार निर्देशन दिएको छ ।

    नेपालको हेल्थ इमर्जेन्सी अपरेशन सेन्ट ९एचईओसी० का अनुसार शनिबारसम्म देशका ७७ जिल्लामध्ये २२ जिल्लाका अस्पतालमा बेडको अभाव थियो ।

    नेपालगन्जस्थित कोभिड–१९ आईसीयू वार्डका वरिष्ठ फिजिसियन डाक्टर पारस श्रेष्ठका अनुसार अस्पतालमा सामर्थ्यभन्दा धेरै चाप देखिएपछि उनले हल्का लक्षणमात्रै देखिएका बिरामीहरुलाई घरमै आइशोलेसनमा बस्न निर्देशन दिइरहेका छन् ।

    युनिसेफको नेपालगन्ज फिल्ड कार्यालयका प्रमुख दीपक श्रेष्ठका अनुसार यस शहरको अवस्था अहिल्यै ‘गम्भीर’ भइसकेको छ, सबैतिर यस्तै हुनसक्ने चेतावनी उनले दिएका छन् ।

    भारतलाई कठोर दोस्रो लहरले घायल बनाएका बेला, नेपाल सरकारले नियन्त्रणको कदम चालिरहेको देखिन्छ । स्वास्थ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मेडिकल अक्सिजनको माग तेब्बर भएपछि गत साता नेपाल सरकारले विदेशबाट २० हजार अक्सिजन सिलिन्डर अर्डर गरेको छ ।

    र, मंगलबार नेपाली सेनाले स्वदेश फर्कने कामदारहरुलाई राख्न भारतसँग सीमा जोडिएका क्षेत्रमा स्वास्थ पूर्वाधारको बिस्तार थालेको छ ।

    सुदूरपश्चिम प्रदेशमा अधिकारीहरुले अक्सिजन ग्यास सिलिन्डरको अभाव भइरहेको जनाएका छन्, यहाँ २ हजार बेडसँगै २ सय बेडको आईसोलेसन केन्द्र थपिएको छ ।

    तर चुनौतीहरु धेरै छन् ।

    भारतको दाँजोमा नेपालको पोजेटिभिटी दर झन्डै दोब्बर छ , यसले ठूलो संख्यामा संक्रमण पहिचान हुन नसकेको संकेत गर्छ ।

    पहिलो लहरको सुरुवातयता, परीक्षणलाई बढाइएको छ । पहिलो लहरको सुरुवातमा परीक्षणको नतिजा थाहा पाउनका लागि स्वाबको नमूनालाई हङकङ पठाइन्थ्यों, तर अहिले दैनिक २० हजार परीक्षण भइरहेको छ ।

    ‘तर यो पर्याप्त छैन,’ पन्थीले भने ।

    सगरमाथाको बेस क्याम्पमा पछिल्ला केही साता दर्जनौं शंकास्पद कोभिड बिरामी भेटिएको दुईवटा स्रोतबाट सिएनएनलाई जानकारी प्राप्त भएको छ, तर नेपालको पर्यटन विभागका प्रवक्ताले यहाँ कुनै संक्रमण थियो भन्ने विषय अस्विकार गरे ।

    यसभन्दा माथिको कुरा, नेपालको खोप लगाउने दर निकै कम छ । गत महिनाको अन्त्यसम्म ७ दशमलव २ प्रतिशत जनसंख्याले कम्तिमा एक डोज खोप लगाएको छ । यो भारतको भन्दा पनि कम दर हो, भारतमा झन्डै १० प्रतिशत जनसंख्याले कम्तिमा एकपटक खोप लगाएको छ ।

    ‘सरकारले आफ्नो तर्फबाट उत्कृष्ट गर्ने प्रयास गर्दैछ,’ स्वास्थ मन्त्रालयका प्रवक्ता अधिकारीले भने, ‘तर हाम्रो देशमा निकै कमजोर र सहजै बिग्रने स्वास्थ प्रणाली छ ।’

    अब के हुन्छ ?

    नेपालको महामारी नियन्त्रणमा लिनका लागि आगामी केही साता महत्त्वपूर्ण हुनेछ । गत बिहीबार अधिकारीहरुले काठमाडौंमा दुई साता लामो लकडाउन लागु गरे । तर, लकडाउन सुरु हुनअघि धेरै मानिस गाउँ फर्किए ।

    गाउँमा प्रायः जेष्ठ नागरिकको संख्या ठूलो छ र स्वास्थ सुविधा कम छ, काठमाडौंलगायत शहरबाट गएका मानिसले दुर्गम गाउँमा भाइरस फैलाउनसक्छन् भन्ने डर पनि छ ।

    ‘लकडाउनअघिको बसाइसराइले अर्को संक्रमण निम्त्याउँछ भन्नु निकै हतारो हुनेछ,’ अधिकारीले भने,‘सातादिनभित्र हाम्रो अवस्था खराब हुनेछ । तर, हामी आफ्नो तर्फबाट सकेसम्म गरिरहेका छौं ।’

    फैलावटलाई सिमित गर्न अधिकारीहरुले अन्य मापदण्ड अपनाइरहेका छन् । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका लागि गरेको सम्बोधनमा ६ मेबाट सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने बताएका छन् ।

    ७७ जिल्लामध्ये ४६ जिल्लामा मानिसलाई भेला हुन कडाइ गरिएको छ । नेपालगन्जका फिजिसियन श्रेष्ठ मानिसले नियम पालना गरेर धैर्यताका साथ बसेमा संक्रमण कम हुने आशा राख्छन् । तर, नियम प्रायः परिवर्तन भइरहेकाले यसलाई बुझ्न जनतालाई गाह्रो भइरहेको दिक्षित बताउँछन् ।

    लकडाउनले मात्रै पर्याप्त नहुने पन्थी बताउँछन् । सरकारले सबै क्लोज कन्ट्याक्टको परीक्षण गर्न, संक्रमितलाई आईसोलेट गर्न, सीमाको राम्रो व्यवस्थापन गर्न र अक्सिजन सप्लाई बढाउन जरुरी छ ।

    र, यी सबै लकडाउनको मूल्य चुकाउनुपरेको छ । काठमाडौंमा सरसफाइको काम गर्ने ४५ वर्षीया गीता कुचिकार तीन छोराछोरीकी आमा हुन् । लकडाउनका कारण उनले जागिर गुमाएकी छिन् र आफ्ना सन्तानको शिक्षालाई लिएर चिन्तित छिन् । ‘मलाई डर लागिरहेछ किनकी नेपालमा भारतमा जसरी नै संक्रमितको संख्या बढिरहेको छ,’ उनले भनिन्,‘मलाई थाहा छैन कसरी हाम्रो सरकारले यो अवस्थालाई व्यवस्थापन गर्छ ।’

    आगामी दिनमा धेरै चाडपर्वहरु आउँदैछन् । जेठमा ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्ने पर्व हुँदैछ, यद्यपी आयोजकहरूले सामाजिक दूरीको नियम पालना गर्ने र अनिवार्य मास्क लगाउने बताएका छन् ।

    स्वास्थ मन्त्रालयका प्रवक्ता गौतम मानिसले निषेधाज्ञा र लकडाउन आदेशलाई चाडवाडका कारण पालना नगर्न पनि सक्ने अनुमान लगाउँछन् । ‘यस प्रतिबन्धित अवधिमा पनि केही चाडपर्वहरु आउँदैछन्, तर सरकार केही भन्नसक्ने अवस्थामा छैन,’ गौतमले भने, ‘मानिसलाई सुरक्षा मापदण्ड अपनाउनुस् भन्दा–भन्दा हामी थाकिसकेका छौं ।’

    अब सबै नेपाली जनताको हातमा रहेको उनले बताए ।
    (जुलिया होलिङ्ग्सवर्थ, सोफी जियोङ र आशा थापा सिएनएन ।)

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images