कर्णालीमा थपिए ५ सय बढी संक्रमित, ८ जनाको मृत्यु
  • SNN Nepal

  • सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटी–पीसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

    आरटी–पीसिआर विधिबाट परीक्षण गरिएका ६ सय १८ जनामध्ये ४ सय जनामा कोरोना पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट गरिएको २ सय ६० जनाको परीक्षणमध्ये १ सय ३ जनामा कोेरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३९ जना डिस्चार्ज भएका छन् भने आइसोलेसनमा २ हजार ८ सय ८७ जना रहेका छन् ।

    त्यस्तै २४ घण्टाको अवधिमा ८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ७२ वर्षीय पुरुष, सोही नगरपालिका १० का ४२ वर्षीय पुरुष, सोही वडाका ३६ वर्षीय पुरुष र लेकबेसी नगरपालिका–५ की ३८ वर्षीय महिला रहेका छन् ।

    यस्तै सल्यानको छत्रेश्वर गाउँपालिका–६ की ६५ बर्षीय महिलाको पनि प्रदेश अस्पतालमै मृत्यु भएको निर्देशनालयका निर्देशक रविन खड्काले बताए । उनकाअनुसार दैलेख अस्पतालमा भैरवी गाउँपालिका –४ का ४६ वर्षीय एक पुरुष र सल्यान शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुषको जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको छ । उता जाजरकोटको भेरी नगरपालिका–४ की ४५ बर्षीय एक महिलाको नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जनाको आरटी–पीसिआर र चार जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images