प्रदेश १ का अधिकांश अस्पताल संक्रमितले भरिए
  • SNN Nepal

  • विराटनगर । कोरोना संक्रमितको उपचार गर्दै आएका प्रदेशका अधिकांश सरकारी तथा निजी अस्पतालको बेड भरिएपछि नयाँ संक्रमितलाई बेड पाउन गाह्रो हुन थालेको छ । ती अस्पतालमा बेड अभाव भएपछि बिरामी भर्ना गर्न पालो कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको हो । विराटनगरमा रहेको एक सरकारीसहित तीन अस्पतालमा संक्रमितले भरिएपछि नयाँ आउने संक्रमितलाई भर्ना लिन छाडिएको छ ।

    प्रदेश १ मा तिन सरकारी ६ वटा अस्पतालले अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने बिरामीलाई भर्ना लिदै उपचार गदै आएका छन् । यी ६ वटा अस्पतालमा सञ्चालित कोभिड युनिटमा कुल ७ सय ३३ बेड रहेका छ । त्यसमा हालसम्म ६ सय ८ जना कडा खालको लक्षण भएका संक्रमित भर्ना भई उपचाररत छन् । बाँकी रहेका बेड पनि प्रायः नर्मल मात्र रहेकाले कडा खालको बिरामी भर्ना नगर्न नसकिने अवस्था रहेको अस्पतालले जनाएका छन् ।

    यहीबीचमा केही बिरामी अस्पतालमा बेडको पालो कुरेका बसेका छन् । पालो कुरेर बसेका बिरामीका लागि बेड पाउन अस्पताल उपचारतहरु डिस्चार्ज भएको अवस्थामा मात्र बेड पाउने अवस्था छ ।

    हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको बीएन्डसी अस्पतालमा केही अक्सिजनसहितका बेड खाली रहेको छन् । ती अस्पतालमा मात्र अहिले नयाँ संक्रमितलाई बेड भर्ना लिँदै आएका छन् । ती अस्पतालमा पनि केही न्यून सङ्ख्यामा मात्र बेड रहेको जनाएका छन् । बिरामीको चाप बढेपछि विराटनगरको नोबेल र विराट अस्पतालले थप गरेको बेड पनि २४ घण्टा नबित्दै भरिएका छन् ।

    नोबेलले बिरामीको चाप बढेसँगै १ सय बेडको कोभिड युनिटमा थप ९५ बेड बिस्तार गरेको थियो । तर बिस्तार गरेको बेड पनि २४ घण्टा नबित्दै बिरामीले भरिएका छन् । त्यसैगरी विराट अस्पतालको १ सय २० बेडको कोभिड युनिटमा थप ८० बेड बिस्तार गरिएकोमा सबै बेड भरिएका छन् । अब थप बिरामी लिन नसकिने अवस्थामा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

    यता विराटनगरमा रहेको एक मात्र सरकारी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सबै ८३ वटै बेडमा बिरामी भर्ना भएकाले थप बिरामी भर्ना लिन नसकिने जनाएको छ । केन्द्रका संयोजक वैजनाथ साहका अनुसार बुधबारयता अस्पतालको आईसीयू र एचडीयू बेड भरिएका छन् । बेड भरिएपछि गम्भीर प्रकृतिका बिरामीलाई भर्ना गर्न सकिएको छैन ।

    अस्पतालमा बाँकी रहेका १३ बेड नर्मल भएकाले नयाँ बिरामीलाई भर्ना गरेर उपचार गर्न नसकिएको उनले बताए । अस्पतालमा रहेका ८३ बेड भने सबै अक्सिजनसहितको थिए । ‘अस्पतालले अक्सिजनको सहायतमा उपचार गर्नु पर्ने अवस्थाका गम्भीर बिरामी मात्र भर्ना लिने गरेको छ,’ संयोजक साहले भने, ‘बिरामीले अस्पतालका सबै बेड भरिएका छन् । थप बिरामी अब हामी लिने अवस्थामा छैनौँ ।’ अस्पतालमा बिरामी आएको खण्डमा बेड अभावमा फर्काइने गरेको उनले बताए ।

    उनले आईसीयू बेड खोज्नेहरूको नाम टिपेर राख्ने गरिएको साहको भनाइ छ । ‘आईसीयू प्याक छ,बेड खोज्नेको नाम टिपेर राख्छौँ,’ उनले भने, ‘अहिले ८३ जना संक्रमित उपचाररत छन् ।’ कोसी कोभिडमा आईसीयू,एचडीयू र जनरलसहित ९६ वटा बेड छन् ।

    विराट मेडिकल कलेजको कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन सुनील देवले आईसीयू खोज्ने संक्रमितले बेड नपाउने अवस्था रहेको बताए । विराटले ३२ वटा आईसीयू र १२ वटा भेन्टिलेटरसहित दुई सय बेडको छुट्टै कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । तर ती सबै आईसीयू बेड भरिएका छन् ।

    नोबेल अस्पतालका कोभिड युनिटका फोकल पर्सन दिनेश न्यौपानेका अनुसार नोबेलमा नयाँ संक्रमितलाई भर्ना गर्न सक्ने अवस्था छैन । नोबेलमा एक सय ४४ बेड छन् । तीमध्ये ३९ वटा आईसीयू र नौवटा भेन्टिलेटर छन् । बाँकी अक्सिजनसहितका बेड हुन् । बेड खाली नभएका कारण बेड खोज्नेलाई फिर्ता पठाउनुपर्ने अवस्था रहेको उनले बताए ।

    झापामा रहेको प्रादेशिक अस्पताल मेचीमा पनि अक्सिजनसहितका सबै बेड संक्रमितले भरिएकाले बिरामी फर्काउने गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। पीताम्बर ठाकुरले कुल ७५ बेडको कोभिड अस्पताल रहेकोमा हाल २५ जना संक्रमित भर्ना भएर उपचारत छन् । अक्सिजनसहितका २५ बेड सबै भरिएकाले बाँकी रहेको बेड नर्मलमा बिरामी भर्ना लिएर उपचार गर्न नसकिने भएकाले बिरामी फर्काउने गरिएको उनले बताए ।

    धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुल १ सय बेडको कोभिड अस्पतालमा शनिबार बिहानसम्म ६२ जना संक्रमित उपचाररत छन् । प्रतिष्ठानका सहप्रवक्ता डा। चूडामणि पोखरेलले अब केही सीमित बेड मात्र अक्सिजनसहितका रहेकाले कडा खालका लक्षणसहितका संक्रमितलाई भर्ना लिएर उपचार गर्न सकिने बताए । उनले अस्पतालले गम्भीर प्रकारका त्यसमा पनि अक्सिजनको सहायतमा उपचार गर्नुपर्ने खालका बिरामी मात्र भर्ना लिने गरिएको छ ।

    ‘अहिले धेरै बिरामी अक्सिजनको सहायतमा उपचार गर्ने खालका आउने गरेका छन्’ सहप्रवक्ता पोखरेल भने, ‘हामीसँग भएको सीमित स्रोतसाधानले अब धेरै समय धन्न सकने अवस्था देखिनन् ।’ बिरामीको चाप बढिरहेको छ,यस्तै अवस्था रहे लामो समयसम्म बिरामी भर्ना लिएर उपचार गर्न कठिनाइ हुने अवस्था सिर्जना हुँदै गएको उनले बताए ।

    विर्तामोडको बीएन्डसी अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा शनिबार बिहानसम्म २३ बेड खालि थिए । कुल ६५५ बेड रहेका मध्ये ४२ बेडमा बिरामी भर्ना रहेकाले अब सीमित बेडमा बिरामी भर्ना गर्न सकिने अस्पतालका जनसम्पर्क अधिकारी प्रनिस गिरीले बताए । उनले अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा सबै अक्सिजनसहितका बेड रहेको पनि बताए ।

    प्रदेश १ का सामाजिक विकास मन्त्रालयका कोभिड–१९ निगरानी,तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिको सचिवालयका संयोजक डा रवीन्द्र निरौलाले प्रदेशमा दैनिक ७ सयभन्दा माथिको सङ्ख्यामा संक्रमित थपिने क्रमसँगै अस्पतालमा बिरामीको चाप पनि उच्च हुन पुगेको बताए । जसका कारण धेरै कोभिड अस्पताल बिरामीले भरिएकाले अधिकांश अस्पताल थप बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले तत्काल बिरामीका लागि अस्पतालमा आवश्यक उपकरणसहितका बेड थप्ने बारेमा मन्त्रालयमा छलफल भइरहेको पनि बताए ।

    ‘बेड म्यानेज गर्न गाह्रो भए पनि होम आइसोलेसनमा बसेका संक्रमितलाई टेलिफोनमार्फत परामर्श दिइरहेको र सिलिन्डर,औषधिलगायत कुरामा सकेको मद्दत गर्ने काम भइरहेको संयोजक निरौलाको भनाइ छ । प्रदेश १ मा शुक्रबारसम्म सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ९३३ पुगेका छ । त्यसमा ६ सय ८ जना अस्पताल भर्ना भएका छन् बाँकी होम आइसोलेसनमा छन् ।

    बढ्यो अक्सिजनको खपत

    प्रदेशमा रहेका विभिन्न कोभिड अस्पतालमा संक्रमितको चाप बढेसँगै बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको खपत पनि ह्वात्तै बढेको छ । कतिपय अस्पतालमा अक्सिजनको खपत ह्वात्तै बढेसँगै अक्सिजनको आपूर्तिमा समस्या देखिन थालेको छ ।

    धेरैजसो अस्पतालमा आफ्नै अक्सिजनको प्लान्ट समेत नरहेकाले बाहिरबाट सप्लायर्समार्फत अक्सिजन ल्याउनुपर्ने भएकाले ती अस्पतालमा अक्सिजनको आपूर्तिमा समस्या देखिन थालेको हो । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेका अन्य अस्पतालमा अक्सिजन बाहिरबाट सप्लाई गर्नुपर्ने अवस्था छ । प्रतिष्ठानको भने आफ्नै अक्सिजन प्लान्ट छ ।

    प्रदेशका ६ कोभिड अस्पतालमा अहिले दैनिक ८ सय ७० ठूला सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । नोबेलमा सबैभन्दा बढी दैनिक ३ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । नोबेलमा बढी सिलिन्डर खपत हुन थालेपछि बाहिरबाट ल्याउनुपर्ने अक्सिजनका कारण केही समस्या देखिन थालेको कोभिड युनिटका फोकल पर्सन दिनेश न्यौपानेले बताए ।

    उनले बिरामीका लागि आवश्यक अक्सिजन उपलब्ध गराउन जिल्ला प्रशासन र विराटनगर महानगरपालिकामा पत्राचार गरिएको जानकारी दिए । ‘समान्य अवस्थामा दैनिक ४० देखि ६० सिलिन्डर अक्सिजन खपत हुँदै आएको थियो,’ न्यौपानेले भने,अहिले त्यो सङ्ख्या तीन गुणाले बढेर दैनिक २ सयभन्दा बढी सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ ।’ अस्पतालमा अक्सिजन खपत एक्कासि उच्च हुँदा आपूर्तिमा समस्या देखिन थालेको स्थानीय प्रशासन र महानगरलाई आवश्यक व्यवस्थापनका लागि आग्रह गरेको उनले बताए । अन्य बाँकी अस्पतालमा संक्रमितको उपचारका लागि दैनिक १ सयको हाराहारीमा अक्सिजन खपत हुँदै आएको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images