विश्वका हरेक स्वास्थ्य संकटमा किन अग्रपंक्तिमा छ कम्युनिष्ट देश क्युवा ?
  • SNN Nepal

  • काठमाडौ । सन् २०१४देखि २०१६सम्म पश्चिम अफ्रिकालाई इबोला भाइरसले सतायो । भाइरससँग लढ्न धनी देशहरूले पैसा मात्रै सहयोग गरिरहेका थिए । तर, फिल्डमा पैसा हैन स्वास्थ्य सेवा आवश्यक थियो । क्युवाले नेतृत्व लियो । सन् २०१४ को अक्टोबरमा १ सय ६५ स्वास्थ्यकर्मी पठायो । डाक्टर, नर्स र संक्रमण नियन्त्रण विज्ञहरू समेटेर सिरिया लियोनमा क्युवाली टोली छ महिना बसेको सन् २०१४ मै बिबिसीले उल्लेख गरेको थियो ।

     

    इबोला आतंकको चार वर्षअगाडि हाइटीको हैजा संकटमा उस्तै नाम कमायो क्युवाली मेडिकल मिसनले । सन् २०१० को जनवरी १२ मा हाइटीमा भूकम्प आयो । २ लाख बढी मान्छेको ज्यान गयो । भूकम्प आएको १० महिनापछि अक्टोबर २० मा हैजा देखा पर्‍यो । हैजाले १० हजार बढीको ज्यान लियो । हैजा नियन्त्रणमा क्युवाली मिसन धेरै सफल भयो ।

    ९ सय ८ जनाको क्युवाली मेडिकल मिसनले हाइटीका दुर्गम क्षेत्रहरूका जनताको घरघरमा पुगेर सेवा गरे । हैजाको पहिलो रेस्पोन्स गर्ने देश पनि क्युवा भएको भन्दै बेलायती समाचार एजेन्सी रोयटर्स लेख्छ, ‘हाइटीका ३० देखि ४० प्रतिशत हैजा बिरामी क्युवाली स्वाथ्यकर्मीहरूले उपचार गरेका थिए ।’

    क्युवाको हाइटी सेवाको तारिफ गर्दै रोयटर्सले सन् २०१० को डिसेम्बर ३ मा हेडलाइन बनायो( हाइटी हैजाको अग्रपंङ्तिमा क्युवाली स्वास्थ्यकर्मी एक विशाल शक्ति ।

    कोभिड-१९ महामारीमा पनि क्युवाको स्वास्थ्य सक्रियता उस्तै छ । सन २०२०को अप्रिलसम्ममा मात्रै क्युवाले इटालीदेखि दक्षिण अफ्रिकासम्म १२ सय बढी स्वास्थ्यकर्मीलाई २२ देशको संकट क्षेत्रमा खटाएको बिबिसीले उल्लेख गरेको छ । दक्षिण अफ्रिका सरकारले त क्युवाली डाक्टरलाई सन् २०२१ को नोबेल पुरस्कार दिनुपर्ने प्रस्ताव समेत गरेको थियो ।

    अझ रोचक कुराचाहिँ आफ्नो कट्टर दुश्मन देश अमेरिकालाई संकट पर्दा समेत क्युवाले स्वाथ्य सहायताको प्रस्ताव गरेको थियो । सन् २००५ मा अमेरिकाको गल्फ कोस्टमा हुरिक्यान कट्रिना आउँदा तत्कालीन क्युवान रास्ट्रपति फिडेल क्यास्ट्रोले १ हजार ५ सय ८६ डाक्टर, २७ पाउन्ड औषधि र २६ टन अन्य स्वास्थ्य सहायता प्रस्ताव गरे पनि अमेरिकाले अस्वीकार गरेको सोही वर्ष अमेरिकी च्यानल सिएनएनले समाचार बनाएको थियो ।

    कोरोना संकट स् दुई खोप अन्तिम चरणमा, अक्सिजन र भेन्टिलेटरमा आत्मनिर्भर
    दि न्यू योर्क टाइम्सका अनुसार अहिले विश्वमा ९० कोभिड(१९ विरुद्धका खोपहरू बन्दैछन् । त्यसमा पाँच खोप त क्युवाले मात्रै बनाएको छ । क्युवाले विकास गरेका पाँच खोपमा दुई खोप नागरिकहरुलाई लगाउन सुरु भएको छ । खोप विकास गर्ने सबैभन्दा सानो र दुई खोप अन्तिम चरणमा पुर्‍याउने क्युवा एक्लो ल्याटिन अमेरिकी देश हो ।

    ‘सोभेरेन २’ र ‘आब्दाला’ नामक दुई खोप क्युवाले आफ्ना नागरिकहरूलाई दिन थालेको छ ।

    कतिपयले क्लिनिकल ट्रायल नभइकन खोप दिएको भनेर आलोचना गरेका छन् । क्युवाली विज्ञहरूले भने यस अगाडि क्लिनिकल ट्रायल भएका १ लाख ४५ हजारको नजिता राम्रो देखिएकोले दिन थालेको बताएका छन् । क्युवा अगाडि रसिया, चीनले पनि क्लिनिकल ट्रायल गर्नुअघि खोप दिएका थिए । हाल दुवै खोप क्लिनिकल ट्रायल पार गर्दै विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त छन् ।

    क्युवाले आफ्ना एक करोड १३ लाख संख्याका नागरिकलाई आफूले बनाएको खोप लाउने लक्ष्यसाथ यात्रा तय गरेको छ । क्युवाको बायोक्युवाफर्माका सभापति डाक्टर इदुआर्दो मार्तिनेजले दि न्यु योर्क टाइम्सका क्युवा रिपोर्टर इद अगस्टिनसँग भनेका छन्, ‘सम्भवतः आफ्नै खोप सबै नागरिकलाई लगाउने पहिलो देश हामी हौं ।’

     

    खोप विकासमा क्युवाको अनुभव पुरानो हो । फ्रान्सेली च्यानल फ्रान्स २४ का अनुसार क्युवाले सन् १९८०को दशकपछि आफैं खोप बनाउन थालेको हो । आफूलाइ चाहिने ८० प्रतिशत खोप क्युवाले आफैं उत्पादन गरेको फ्रान्स २४ ले लेखेको छ ।

    कोभिड(१९विरुद्धका खोपहरू मात्रै हैन भेन्टिलेटरदेखि अक्सिजन सिलिन्डर उत्पादनमा पनि क्युवाले आफैं नेतृत्व गरेको छ । सन् २०२० बाट तयार गरेको क्युवाको क्युवान न्युरोसाइन्स सेन्टरका बायोमेडिकल इन्जिनियर, विश्वविद्यालयका अन्वेषकदेखि सरकार तथा निजी क्षेत्रको सहकार्यमा भेन्टिलेटर र अक्सिजन सिलिन्डर उत्पादन भएको चिनियाँ समाचार एजेन्सी सिन्हुवाले उल्लेख गरेको छ ।

    अमेरिकि नाकाबन्दीले ल्याएको क्युवाको स्वाथ्य क्रान्ति
    सन् १९५३ जुलाई २६ बाट क्युवाली क्रान्तीकारी नेता फिडेल क्यास्ट्रोले सैन्य तानाशाह फुल्गेनसियो बाटिस्टाविरुद्ध आफ्ना अर्जेन्टाइन कमरेड चे ग्वेभारासँग मिलेर क्रान्ति छेडे । आधा दशकपछि नै क्रान्ति सफल भयो । सन् १९५९ को जनवरी १ मा बाटिस्टा भागेर डोमिनिकल रिपब्लिक भन्ने देशमा आए । त्यसको ६ दिनपछि राजधानी हवाना आएर सत्तामा आएका क्यास्ट्रोको दल अहिले सम्म सत्तामा छ । क्युवामा क्यास्ट्रो सत्तामा आउँदा नेपालमा भने प्रथम आम निर्वाचनको तयारी हुँदै थियो ।

     

    अमेरिकी आडका सैन्य तानाशाह बास्टिस्टालाई अपदस्त गरेपछि फिडेल क्यास्ट्रोमाथि अमेरिकाले नाकाबन्दी लायो । नाकाबन्दीले टापुको देश क्युवालाइ धेरै असहज बनायो । स्वास्थ्य क्षेत्रमा झनै समस्या थोपरिएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन् ।

    क्रान्ति सफल भएपछि यसलाई जोगाउन क्यास्ट्रोले सन् १९६० को सेप्टेम्बर २८ मा क्रान्ति रक्षा कमिटी बनाए । छोटकरीमा सिडिआर भनेर चिनिने कमिटीमा हजारौं मजदुर, किसानदेखि युवा विद्यार्थीहरू समेटिए । क्रान्तिको उपलब्धिमा कसैले धावा बोले नबोलेको नियमन गर्न र काउन्टर गर्न कमिटी बनेको थियो ।

    पछि त्यही कमिटीलाई नै सार्वजनिक स्वास्थ्य क्षेत्रमा परिचालन गरियो । फिडेलको मृत्यु भएको एक महिनापछि सन् २०१६को डिसेम्बर अंकमा भारतको म्यागाजिन डाउन टु अर्थमा लेख्दै भारतिय जनस्वास्थ्य अभियन्ता अभय सुक्लाले क्यास्ट्रोलाई सार्वजनिक स्वास्थ्यका नायक भनेका छन् ।

    उनले क्युवाले स्वास्थ्यकर्मी पठाएर धेरै देशहरूलाई सहयोग गरेको, बालमृत्युदर घटाएको, विकाशील देशहरूको विपत्तिमा सहायता गरेको तथा सन् १९९९ मा ल्याटिन अमेरिकन स्कुल अफ मेडिसिन बनाएर सयौँ स्तरीय डाक्टर उत्पादन गरेकोमा तारिफ गरेका छन् ।

    क्युवाको स्वास्थ्य क्षेत्र राम्रो भएकोले त्यसको प्रतिव्यक्ति आयु अमेरिकी र बालमृत्युदर न्युजिल्याण्ड स्तरको भएको स्पेनको अखबार एल पाइसले उल्लेख गरेको छ । एल पाइसका अनुसार मेनिन्जाइटिस बि विरुद्धको पहिलो खोप क्युवाले सन् १९८५ मै बनाएको थियो ।

    यस्तैगरी, सिपिलिस र एड्सलाई आमाबाट बच्चामा सर्न नदिने उपचार पनि क्युवाले बनाएको र सन् २०१५ मा विश्व स्वाथ्य संगठनले तारिफ गरेको एल पाइसले उल्लेख गरेको छ । फिडेल क्यास्ट्रोको भाषामा ‘सेतो कोटधारी सेना’को रुपमा पारिभाषिक क्युवाली डाक्टरले क्युवाको कुटनैतिक शक्तिको काम गरेका छन् ।

    विश्व स्वाथ्य संगठनले समेत क्युवामा पछिल्लो तीन दशकमा स्वास्थ्य क्रान्ति भएको भन्दै आफ्नो आधिकारिक वेबसाइटमा क्युवाले स्वाथ्य क्षेत्रको तारिफ गरेको छ । क्युवाको स्वाथ्य सेवा समुदायमैत्री र गरिबमैत्री भएको भन्दै धेरैले तारिफ गर्छन् ।

    नाकाबन्दी लाएपछि पनि क्युवाले गरेको स्वाथ्य प्रगतिमा अमेरिका सकारात्मक छैन । सन् २००५को कट्रिना हुरिक्यानमा क्युवाको स्वास्थ्य सहायता नलिएको अमेरिका अरु देशलाई पनि नलिन आग्रह गर्छ । क्युवाले डाक्टरहरूको मानव अधिकार हनन गरेको भन्दै यस्तो आग्रह गर्ने गरेको छ ।

    तर, क्युवाको स्वाथ्य सामर्थ्य बुझ्ने देशहरूले अमेरिकी आग्रह अस्वीकार गर्दै आएका छन् । स्पेनिस अखबार एल पाइसका अनुसार हाल विश्वका ६७ देशमा आधा लाख क्युवाली डाक्टर छन् । क्युवाको स्वाथ्य क्षेत्रका समर्थकहरूले भने नाकाबन्दी गरेर आफैं क्युवाली नागरिकलाई दुस्ख दिएर मानव अधिकार हनन गर्ने अमेरिकाले मानव अधिकारको कुरा उठाउन नमिल्ने तर्क गर्दै आएका छन् ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images