निषेधाज्ञा उल्लंघन गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जना पक्राउ
  • SNN Nepal

  • पर्सा । निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा पर्साका विभिन्न स्थानबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

    पक्राउ पर्नेमा महानगरपालिका वडा नम्बर १० का २६ वर्षका साहेव शेख, वडा नम्बर १३ का ३० वर्षका मोहम्द असरफ राइन, पोखरिया नगरपालिका ३ का १९ वर्षका हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका ४ का ३० वर्षका भोला प्रसाद साह र भारत विहार वेतिया वैरिया ३ का मुन्ना साह रहेका छन् ।

    पर्सामा बैशाख ३० गतेदेखि जेठ ६ गते सम्मका लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारवाहीमा अवरोध पुर्‍याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुमाथी सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images