बागमती सफाइ महाअभियानको ८ वर्ष पूरा
  • चक्रबहादुर चन्द

  • काठमाडौ । बागमती सफाइ महाअभियान वि.सं. २०७० जेठ ५ गतेबाट सुरु भएको हो । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको अभियान एकै दिन, एकै समय स्वयंमसेवी रूपमा सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो र लामो स्वयंसेवी अभियान हो । यो महाअभियान निरन्तर सञ्चालन भई ८ वर्ष पूरा भएको छ । यो महाअभियान महाभूकम्प, नाकाबन्दी, लकडाउन, दसैँ, तिहार, जाडो, गर्मी या अन्य महत्त्वपूर्ण चाडपर्वमा पनि यो निरन्तर सञ्चालनमा रहेको छ । यो महाअभियानमा कुनै प्रकारको आर्थिक कारोबारका साथै चन्दा सहयोग लिइँदैन । यो अभियानको कुनै समिति छैन, कुनै बैङ्क खाता छैन । नेपाल सरकारको आधिकारिक संस्था अधिकार सम्पन्न बागमती एकीकृत विकास आयोजनाले गर्ने खर्चसँग महाअभियानको कुनै सरोकार रहँदैन । यो विशुद्ध नागरिक महाअभियान हो । यसमा हालसम्म करिब १० लाख जनाको सहभागिता भइसकेको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, लगायत राज्यका उच्च पदस्थ पदाधिकारी, कलाकारहरूदेखि नागरिकसम्म यो अभियानमा सामेल भइसक्नुभएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको यो अभियानमा ठूलो साथ सहयोग रहँदै आएको छ । भने यस अभियानमा हजारौँ संस्थाले संस्थागत सहभागिता जनाइसक्नु भएको छ । नेपाल टेलिकमले सुरुवाती दिनदेखि सफाइ सामग्री सहयोग गर्दै आएको छ । यस अभियानमा विभिन्न सङ्घसंस्थाले पनि सफाइ सामग्रीहरू सहयोग गर्दै आउनु भएको छ ।

    यो महाअभियानको प्रेरणा, सहयोग र सहभागितामा उपत्यकाका बागमती नदीका सहायक नदीहरू क्रमशः विष्णुमती, रुद्रमती, इच्छुमती, मनहरा, गोदावरी, नख्खु, कोडकु तथा बागमतीको माथिल्लो भाग एवं विष्णुमतीको माथिल्लो भाग, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, हनुमन्ते, बागमती फोहोर उन्मूलन र चक्रपथको पश्चिम, उत्तर र दक्षिण भाग तथा लामाटारमा लगायत २० स्थानमा सरसफाइ अभियान सञ्चालित छन् । यही महाअभियानको प्रेरणा र सहभागितामा काठमाडौँ उपत्यका बाहिर देशभरी करिब १०० स्थानमा सरसफाइ अभियान सञ्चालनमा छन । भने मेची महाकाली सफाइ अभियानअन्तर्गत ६२ स्थानमा सफाइ अभियान कार्यक्रम सम्पन्न भएको छ । हामीले हरेक हप्ता दुई घण्टा बागमती र उपत्यकाका सहायक नदीहरू, सार्वजनिक स्थल, मठमन्दिर, घरआँगन सफा गर्दै आएका छौँ । जनचेतना जगाउँदैछौँ । अभियानले फोहोरको स्रोतमै वर्गीकरण गर्न, कौसीखेती सुरु गर्न, कुहिने फोहोरबाट वायो कम्पोस्टिङ र बायोग्याँस उत्पादन गर्न उत्प्रेरणा सहजीकरण गर्ने गरेको छ । महानगरपालिकाको अगुवाइमा जथाभावी फोहोर गर्नेलाई दण्ड जरिवाना पनि गर्ने गरिएको छ ।

     

    यो महाअभियान र अभियन्ताहरूको सहयोग दबाब र क्रियाशीलताका कारण नेपाल सरकारको सम्बन्धित निकायहरूमा दबाब पर्न गई वर्षौंदेखि रोकिएका विभिन्न निर्माण कार्य तथा ढल निर्माण कार्य तीव्रता पाई निर्माण कार्य भइरहेका छन् । बागमती लगायत काठमाडौँ उपत्यकाका अन्य सहायक नदीहरूबाट स्वतःस्फूर्तरूपमा करिब २० हजार मेट्रिकटनभन्दा धेरै फोहोर निकाली व्यवस्थापन गरिएको छ । नदी किनारमा ६ हजारभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । यो महाअभियानको अगुवाइमा नदी किनारामा सार्वजनिक स्थललाई सरकारका नाममा फिर्ता ल्याउन सकिएको छ । विभिन्न निकायहरूबाट सामाजिक उत्तरदायित्वअन्तर्गत नदी किनारामा पुरातात्त्विक स्थलको संरक्षण तथा ३० भन्दा बढी स्थानमा बगैचा निर्माण भएका छन् । मानिसहरू घुम्न आउने खेल्न आउने गरेका छन् । भने दिनहुँजसो यी पार्कहरूमा फिल्म भिडियोहरू सुटिड । समेत हुने गर्दछन् । यी सबै बागमती सफाइ महाभियानकै कारण हो । अझ बागमती नदी किनारमा स्थानीय क्लब, विभिन्न समूहले वृक्षरोपण गर्ने गरेको छन् । अभियन्ताहरूले आफ्नो जन्मदिनमा समेत बागमती किनारमा वृक्षरोपण गर्ने गरेका छन् । यो अभियन्ताहरूको नियमजस्तै बनेको छ । अहिले बिरुवा बढेर गर्मी समयमा शीतल छहारीमा बस्नेसम्म भएका छन् । बागमती किनारामा अहिले रुद्राक्ष, बरपीपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, समी, अम्बा, गुलाब लगायत विभिन्न जातका बिरुवाहरू हुर्किंदै आएका छन् । यसले गर्दा पनि बागमती नदी किनारहरू वातावरणमैत्री बन्दै गएका छन् । नेपाल सरकारको आधिकारिक निकाय अधिकार सम्पन्न बागमती आयोजनाबाट भत्केको पुलदेखि थापाथलीपुलसम्म सोलार बत्ति जडान गरेको ती क्षेत्रमा अझ सौन्दर्य बढेको पाइन्छ ।

    काठमाडौँवासीले बागमती नदीमा ३०औँ वर्षदेखि फोहोर थुपार्दै डम्पिङसाइड बनाएको नदीमा अहिले यस्ता थुप्रै परिवर्तनका कारण आशाका किरणहरू पलाएको आभास पाएको स्थानीयवासी र नागरिक समाजले बताउँदै आएका छन् । नागिरकहरूमा पनि चेतनाको अभिवृद्धि भई पहिला फोहोर सोझै बागमतीमा फाल्नेहरू अहिले सचेत भएका छन् भने जनमानसमा चेतनाको जागरण भई नदीमा फोहोर फाल्ने कार्य निकै कम भएको छ । तथापि अझै केही अचेत व्यक्तिहरूले रातिराति लुकेर नदीहरूमा फोहोर फाल्ने गरेको पाइन्छ । केहीलाई महानगरले कार्बाही गर्दै पनि आएको छ । तर पनि यसका अभियन्ताहरू थाकेका छैनन् । यो अभियानले प्रायः मृत अवस्थामा रहेको बागमती र यसका सहायक नदीलाई पुनर्जीवन दिएको छ । महाअभियानको मूल उद्देश्य भनेको विशुद्ध स्वयंसेवी भावनाको विकास गर्ने, स्वाभिमानी भावनाको विकास गराउने, हामी हाम्रो काम आफै गर्न सक्छौँ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निःस्वार्थ समर्पण हुने युवा जनशक्ति निर्माण गर्ने हो ।

     

    त्यसैले यो सभ्य समाज निर्माण र राष्ट्रिय स्वाभिमानको महाअभियान हो । फोहोरको स्रोतमै व्यवस्थापन गर्न, नदीहरू, सम्पदा तथा सार्वजनिक स्थलको सरसफाइ गर्न र राष्ट्रव्यापी जनचेतना जगाउन यस महाअभियानको अतुलनीय योगदान रहेको हाम्रो विश्वास छ । हामीले सुरु गरेको सरसफाइ अभियान राष्ट्रव्यापी बनेकामा हामीलाई गौरव छ । हामीलाई सञ्चार जगत्ले निरन्तर सहयोग र उत्साहवर्धन गरिदिएको छ । यो हामी सबैको साझा अभियान हो । यसमा सहभागी हुने र परोक्ष सहयोग गर्ने सबै अभियन्ता हुन् । आउनुहोस् सबैजना हातेमालो गरी यो महाअभियानको यात्रालाई अगाडि बढाऔँ ।

    यो अभियान कहिलेसम्म भन्ने प्रश्न धेरै उठने गरेका छन् । यसबारे अभियन्ताहरूसँग एउटै जवाफ छ, जबसम्म बागमती नदीमा सफा पानी बग्दैन तबसम्म यो अभियान जारी रहन्छ । तर पनि पछिल्लो समय बागमती सफाइ महाअभियानको सफाइ मोडलमा केही परिवर्तन गर्न अभियन्ताहरू स्थानीय सरकारसँग समन्वयन गरीरहेका थियौँ । यही बेलामा विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण फैलियो, जसको कारण यसको प्रभाव नेपालमा पनि पर्न गई निरन्तर सञ्चालनमा रहेको बागमती सफाइ महाअभियान पनि प्रभावित हुन गयो । यो अभियान सामूहिक रूपमा सञ्चालन हुन सकेन र अभियन्ताहरू आआफ्नो घर आँगन घरको नजिकको सडक छेउछाउ सफाइ गर्ने अभियानमा लागिपरेका छौँ भने बागमती नदी नजिक बस्ने अभियन्ताले महाअभियानलाई निरन्तरता दिन नदीमा सानो समूहमा अभियान सञ्चालन गर्दै आएका छौँ ।

    नदीहरूमा फोहोर फाल्नु हँुदैन भन्ने नागरिकमा चेतना हुन जरुरी छ । त्यसकारण अब असल नागरिकको पहिचान दिन निम्न २ कामलाई आजैबाट लागू गरौँ भन्ने हाम्रो अपिल हो ।

    १। घरबाट निस्कने फोहोरलाई वर्गीकरण गरी कुहिने फोहोरलाई अर्ग्यानिक मल बनाई कौसीखेती गर्ने ।

     

    २। प्लास्टिक, फलाम कागजलाई बिक्री गर्न सकिन्छ, त्यो फोहोरबाट मोहर बनाऔँ ।

    ३। सरकारी जिम्मेवार निकायले जथाभावी फोहोर फाल्नेलाई कडा कार्वाही गर्ने ।

    ४। जनचेतना फैलाउन विद्यालय स्तरमै सफाइसम्बन्धी शैक्षिक पाठ्यक्रम समावेश गर्ने ।

    यो अभियानका कारण समाजमा परिवर्तनका सङ्केत देखा परेका छन् ।

    हाम्रो घरको फोहोरले मोहर पनि हुने अर्ग्यानिक तरकारी र फलफूल खान पाउने पनि पाउने राज्यलाई स्थानीय सरकारलाई फोहोरको मात्रा पनि घटाउन योगदान दिइरहेको छ । मानिसले फोहोरलाई जथाभावी नदीमा फाल्नु हुँदैन भन्ने चेतना जागेको छ । यो जनचेतना आम नागरिकमा सन्देश फैलाउने कार्य गरिरहेको छ । मानव जातिले पृथ्वीमाथि धेरै किसिमले अन्याय गरेको छ । प्रकृतिसँग खेलवाड गरेको छ, पैसा कमाउनको लागि प्रकृतिको दोहोन गर्ने नदीहरूको दोहोन गर्ने, नदीनालाहरूको बहाव नै परिवर्तन गराई बस्ती बसाउने, सार्वजनिक स्थलहरूलाई व्यक्तिगत प्रयोजनमा ल्याउने, आफ्नो सुविधाको लागि प्रकृतिको विनाश गर्ने रुखहरू जथाभावी काट्ने कार्यमा हामी मानव जाति नै अग्रसर रहँदै आएका छौँ । आफ्नो घरबाट निस्कने फोहोरहरूलाई जथाभावी नदीनालाहरूमा फाल्ने सार्वजनिक स्थलमा फाल्ने आफू राम्रो भए पुग्यो । आफू सुखी भए पुग्यो दोस्रो व्यक्तिको बारे नसोच्ने, समाजको बारे नसोच्ने, गरेको कारण अहिले वातावरणमा ठूलो असर परेको छ । हामीले अब सोच्ने बेला आएको छ । चिन्तन मनन गर्ने बेला आयो । अब पनि हामी ब्यूँझिन जरुरी छ । । हामीले सच्चिने बेला आएको छ । यसमा सबैको ध्यान केन्द्रित होस् । हामीले हाम्रो पालामा नै असल कार्य गरी राम्रो समाज बनाउन सक्ने गरी जनचेतना फैलाउन निकै आवश्यक छ ।

    ‘म मेरो बासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिक स्थल वरिपरि तथा नदीनालाहरू सफा राख्छु । बागमती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु ।’

    लेखक बागमती सफाइ महाअभियानका अभियन्ता हुन् ।

     

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images