सञ्चारमन्त्री गुरुङद्धारा गृहजिल्लामा ‘होम आईसोलेसन किट’को व्यवस्था
  • SNN Nepal

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आईसोलेसन किट’को व्यवस्था गर्नु भएको छ । दोलखाका प्रतिनिधिसभाका सांसद गुरुङले कोभिड संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा आम दोलखाबासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्नका लागि ‘होम आईसोलेसन किट’ सहितको स्वास्थ्य सुरक्षा सामग्री घर–घरमा पुुग्ने गरी पठाउनुुभएको हो ।
    ‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितहरुले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो’, उहाँले भन्नुभयो, ‘दोलखा हेल्थ फाउन्डेशनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा आवश्यक्ताको आधारमा वितरण गरिनेछ ।’
    आज काठमाडौंबाट पठाइएको औंषधिसहितको सो किटमा चिकित्सकहरुको परामर्शमा संक्रमितहरुका लागि अत्यावश्यक औषधिहरु तथा स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका छन् । मन्त्री गुरुङले कोभिड संक्रमण हुुनेवित्तिकै हतास हुने, निराश हुने अवस्था आएकाले आम दोलखालीबासीलाई ढुक्क भएर स्वास्थ्यलाभ गर्न सो किटको व्यवस्था गरिएको पनि बताउनुभयो ।
    काठमाडौंका अस्पतालहरुमा संक्रमितहरुको चाप बढ्न थालेपछि घरमै प्रारम्भिक चरणको उपचारको व्यवस्थाका लागि आवश्यक परामर्श लिन उहाँले आफ्नै सक्रियतामा दोलखा घर भई काठमाडौंलगायतका देशका विभिन्न भागमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेको सो फाउन्डेशनको स्थापना गर्नुभएको हो ।
    मन्त्री गुरुङले दोलखाली जनतालाई कोभिड संक्रमण हुुन नदिन, भए उपचारका लागि परामर्श लिने, अस्पतालहरुमा आवश्यक्त परे उपचारको राम्रो व्यवस्था गर्न सो फाउन्डेशनले काम गर्ने समेत स्पष्ट पार्नुभयो । हरि जिरेल संयोजक रहनुभएको फाउन्डेशनमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहनुभएको छ ।
    यसैबीच, मन्त्री गुरुङले कोभिड संकट आउन नदिन दोलखाबासी जनताको घर–घरमा पुुगेर सेवा दिने स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सामाजिक संघ, संस्था, सञ्चारकर्मीहरुसहित सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले जनताको जीवनको सुरक्षा गर्ने दायित्व तीन वटै तहको सरकारले लिएको उल्लेख गर्दै कोभिड विरुद्धको अभियानमा उच्च मनोवलका साथ जुटन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभएको छ ।
    मन्त्री गुरुङले आज दोलखाबासीको नाममा जारी गर्नुभएको अपिलमा भनिएको छ, ‘घर–घरमा पुगि कोभिड संकट समाधानमा लाग्ने स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सामाजिक संघ, संस्था, सञ्चारकर्मीसहित सबैलाई धन्यवाद दिन चाहन्छु । संकटको यस घडीमा दोलखाली जनताको स्वास्थ्य सुरक्षामा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु।’
  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images