निस्वार्थ मानवीय सेवामा प्रशासनले अंकुश लगायो : युवा नेता श्रेष्ठ
  • SNN Nepal

  • प्रेस विज्ञप्ति :

    कोरोना महामारीका बेला विवेकशील साझा पार्टीको पोखरा महानगर समितिले सुरु गरेको ‘तातो भात अभियानुलाई प्रशासनले अंकुश लगाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। महामारीका बेला रोगसँगै भोकले समेत नागरिकहरू मर्नसक्ने अवस्था देखेपछि ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल’ का कोभिड बिरामी र कुरुवाको भोकप्रति संवेदनशील हुँदै हामीले गत आइतबारदेखि शुक्रबारसम्म बेलुकीको खाना बसेकै ठाउँमा निःशुल्क दिएका थियौँ। निःशुल्क शिक्षा र स्वास्थ्यको एजेन्डा बोकेको हाम्रो पार्टीले निस्वार्थ मनले भोका पेटहरूलाई निःशुल्क खाना वितरण गर्दा प्रशासनले भाँजो हाल्नु खेदजनक छ।

    हाम्रो पार्टीले अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनीहरूका कुरुवा र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी गरेर दैनिक झन्डै २ सय जनालाई खाना खुवाउँदै आएका थियौँ। तर ५ दिनमा २ पटक विज्ञप्ति निकालेर कास्की प्रशासनले भाँजो हालेपछि हालका लागि हामी ‘तातो भात अभियानु स्थगित गर्न बाध्य भएका छौँ। प्रशासनको यो अनुदार नीतिप्रति विवेकशील साझा पार्टी पोखरा महानगर समिति खेद प्रकट गर्दछ।

    महामारीका बेला आवश्यक स्वास्थ्य मापदण्ड अपनाएरै आम नागरिकका निम्ति हामीले सञ्चालन गरेको यो पुण्य काममा प्रशासन बाधक हुनु आश्चर्यजनक छ। जेठ २ गते हामीले यो अभियान सुरु गरेकै भोलिपल्ट प्रशासनले सूचना निकाल्यो र भन्यो ‘कतिपय सङ्घसंस्थाबाट अस्पतालका कोभिड १९ सङ्क्रमित बिरामी तथा तिनका कुरुवाहरूलाई खानपानको व्यवस्था गर्ने, विपन्न असहायहरूलाई राहत वितरण गर्ने साथै आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालन गर्ने जस्ता कार्यहरू सञ्चालन गरेको भन्ने बुझिन आएको छ। त्यस्ता कार्यहरू एकद्वार नीति अन्तरगत जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णय एवं स्थानीय तहको समन्वयमा मात्र सञ्चालन गर्नुपर्ने राष्ट्रिय नीति रहेको छ। तसर्थ, त्यस्ता सामाजिक कार्य सञ्चालन गर्दा डीसीसीएमसीको सहमति र स्थानीय तहको समन्वयमा मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु।’

    प्रशासनको यो सूचनापछि पनि हामीले ‘तातो भात’ अभियान जारी राखी अनुमति लिएरै अभियान सञ्चालन गर्ने भनी प्रशासन कार्यालय गएर अनुरोध ग¥यौ। विडम्बना, प्रशासनले जेठ ६ गते पुनः अर्को विज्ञप्ति जारी गरेर भन्यो– ‘केही सङ्घसंस्थाहरूले सङ्क्रमित तथा निजको कुरुवाहरूलाई खाना खुवाउनका लाग अनुमति माग गरेकोमा उक्त कार्य सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गराउन कठिन भई सङ्क्रमण फैलावटको जोखिम समेत उच्च रहने हुँदा हाललाई अनुमति नदिने भनी निर्णय भएको छ।’

    प्रशासनको यो अनुदारपूर्ण निर्णयका बाबजुद चाँडै नै प्रशासनसँग नै समन्वय र संवाद गरी अनुमति प्राप्त भएमा यो अभियानलाई हामीले निरन्तरता दिने नै छौँ। साथै अभियानको लागि हालसम्म सङ्कलन भएको नगद र सामग्री सङ्कलनको विवरण र खर्चको विवरण चाँडै नै सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ।

    हालसम्म यो अभियानका लागि सामग्री, खाद्यान्न र नगद सहयोग गरी साथ दिने सबै मनकारी नागरिकहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ। हामीलाई यो ६ दिनसम्म किचन, ऊर्जा र जनशक्ति उपलब्ध गराएको लेकसाइडस्थित गडफादर्स पिज्जेरियालाई विशेष धन्यवाद दिन चाहन्छौँ।

    अजय श्रेष्ठ
    संयोजक
    विवेकशील साझा पार्टी पोखरा महानगर समिति
    २०७८ जेठ ८ गते शनिबार

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images