माओवादी नेतालाई गोली हान्ने व्यक्ति उपेन्द्र यादव निकट जसपा नेता
  • जानु पाण्डे

  • कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जनालाई कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको छ ।

    बुधबार राती पाण्डेमाथि गोली प्रहार गर्ने घटनाका आरोपी कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    घटनाका मुख्य नाइके यादव उपेन्द्र यादव पक्षका जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्ष र पार्टी लुम्बिनी प्रदेश संसदीय दल नेता सहसराम यादवका स्वकीय सचिवसमेत हुन् । नेता पाण्डेको पेटमा २ राउन्ड गोली प्रहार भएको थियो ।

    घटनामा संलग्नबाट लु१६प ३४९७ नं। को पल्सर मोटरसाइकल, २ थान मोबाइल, १ थान जंगी राउन्ड, १ थान खोका पनि बरामद गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

    आरोपित यादवले व्यक्तिगत झगडाका कारण गोली हानेको स्वीकारेको प्रहरीले जनाएको छ । बुधबार राती ११ बजे भएको घटनाको प्रहरीले बिहीबार दिउँसो १२ बजे संदिग्धको पहिचान गरेको थियो ।

    नेता पाण्डे कपिलवस्तु नगरपालिकाको सडवाबाट तौलिहवातर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक मोहमद इर्साद खान घाइते भए पनि अवस्था सामान्य छ ।

    तर, पाण्डेको शरीरको २ स्थानमा गोली लागेको र गोली प्रहारलगत्तै उनलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images